मनोवैज्ञानिक परामर्श भन्नाले मानिसको मनोविज्ञान वा मनोशारीरिक अवस्थासँग गाँसिएर आएका विविध समस्या या रोगहरू न्यूनीकरण गर्न दिइने सकारात्मक सरसल्लाह र उपचारको विधि भनेर सामान्य रूपमा बुझिन्छ।
उपरोक्त सल्लाह बिरामीको व्यक्तिगत, पारिवारिक वातावरण, रोग, मानसिक अवस्था र त्यसले निम्त्याउने समस्याहरू, शिक्षा र जीवनवृत्तिका विविध पक्षलाई वस्तुगत र सूक्ष्म अध्ययन, अनुसन्धान गर्दै विस्तृत छलफलका साथ गर्ने गरिन्छ।
चिकित्सा सेवा वा उपचारका क्रममा मनोवैज्ञानिक परामर्शको इतिहास धेरै पुरानो भए तापनि आधुनिक उपचारात्मक पद्धतिअन्तर्गतको उक्त सेवा भने केही दशक पहिलेदेखि मात्रै सुरु भएको हो।
धेरै खाले मनोविकृतिहरू जस्तै निराशा, बेचैनी, दिक्दारी, नकरात्मकता, एकाग्रता नहुने समस्या, ज्यादा अन्तर्मुखी वा ज्यादा बहिर्मुखी स्वभावजस्ता समस्यामा मनोरोग विशेषज्ञहरूद्वारा गरिने उपचारका साथ मनोवैज्ञानिक परामर्शले राम्रै नतिजा प्राप्त हुने गरेको तथ्यांक यस लेखिकाले नर्भिकमा गरेको अभ्यासबाट प्राप्त भइरहेको छ।
मनोचिकित्सकद्वारा गरिने औषधोपचार मात्रैले मनोरोगका बिरामीहरूमा आशातीत नतिजा निकाल्न नसकिने हुँदा मनोवैज्ञानिक परामर्शको टड्कारो आवश्यक परेको हो।
औषधोपचारका साथ साथै मनोवैज्ञानिक परामर्शका सहायताले बिरामीको मनमस्तिष्क एवम् सुषुप्त मस्तिष्कभित्र रहेका मनोविकारहरू फाल्ने र गलत विचारलाई नै परिवर्तन गरी सकारात्मकतर्फ लैजाने हुँदा परामर्श अत्यावश्यक र अपरिहार्य हुन्छ।
स्वस्थ मस्तिष्क जहिले पनि स्वस्थ शरीरमा मात्रै रहेको हुन्छ। यो यथार्थ भए पनि त्यो क्रम ठीकविपरीत पनि हुन सक्छ। स्वस्थ मस्तिष्कले तपाईंलाई शारीरिक रूपमा पनि स्वस्थ भएको महसुस गराउँछ।
मस्तिष्क र शरीर दुईतर्फी राजमार्ग एकअर्कामा जोडिए जस्तै घनिष्ट रूपमा सम्बन्धित हुन्छन्। मानिसको मस्तिष्कले उसको शरीरलाई प्रभावित पारिरहेको हुन्छ भने त्यसरी नै शरीरमा के भइरहेको हुन्छ, त्यसले मस्तिष्कलाई प्रभावित नपारी रहने कुरै भएन।
मानिसका मनोवैज्ञानिक कारणहरूलाई कदापि सानो विषय भनेर हेलचक्र्याई गरिनु हुँदैन। तिनीहरूले हाम्रो समग्र स्वास्थ्यमा त प्रभाव पार्छन् नै, तिनले हाम्रो मनमस्तिष्क र मुटुमा पनि प्रभाव नपारी रहन सक्दैनन्।
तथापि हाम्रो मनमस्तिष्क र मुटुमा प्रभाव पार्ने प्रशस्तै कारण छन्। वास्तवमा भन्ने हो भने हाम्रो मनमस्तिष्क र मुटुलाई नकारात्मक प्रभाव पार्ने प्रमुख कारक तत्त्वहरू हामी आफैं सिर्जना गर्छौं। त्यसका साथ साथै मन, मस्तिष्क र मुटुलाई हानि पुर्याउन हामी आफैं धूमपान गर्ने, मद्यपान गर्ने, अनुचित खानपान गर्ने, आदि पनि गर्छौं।
साथमा अनुपयुक्त जीवनशैली र रिस/राग, आवेशजस्ता आक्रामकता, ईष्र्या, द्वैष, समयको हतार, अस्वस्थ प्रतिस्पर्धा र अत्यधिक कार्यव्यस्तताजस्ता हाम्रा खराब तत्त्वहरू पनि हामीसँगै छन्।
ती तमाम भावनात्मक र व्यवहारजन्य समस्या तथा तत्त्वहरूको समाधानतर्फ हामी नलाग्ने हो भने, त्यसले हामीलाई हाम्रो सोचाइलाई नराम्रो पार्ने मात्रै नभएर हाम्रो मन, मस्तिष्क र मुटुलाई गम्भीर तवरबाट समस्याग्रस्त पार्न सक्छन्।
मानिसमा मन, मस्तिष्क र मुटुको समस्याले तिनको मनोवैज्ञानिक स्वस्थतामा गहिरो प्रभाव पार्नुका साथै शारीरिक स्वास्थ्यमा समेत गहन प्रभाव नपारी रहन सक्दैनन्।
यदि कसैलाई हृदयाघात वा मस्तिष्कघात भएको छ भने तिनीहरू आफूलाई पुन: हृदयाघात वा मस्तिष्कघात होला वा अन्य कुनै गम्भीर घटना परिघटना घट्न जाला भनी चिन्तामा डुब्ने र अनावश्यक पीर गरिरहने बानीका हुन्छन्।
केही व्यक्तिहरूमा भने चिकित्सकले खान सल्लाह दिएको औषधि नियमित खान, थप केही शारीरिक व्यायाम गर्न र स्वस्थकर खाना खाने बानी बसाल्न नै झन्झट मान्ने गर्छन्। यस्ता भावनात्मक विषयलाई राम्रोसँग निभाउन नसक्दा मन, मस्तिष्क र मुटु रोगको सफलतम् उपचारमै बाधा पर्न सक्छ।
त्यसैले बिरामीका मनोवैज्ञानिक समस्याहरूको उपचार गर्दा तिनको शारीरिक अवस्थामा त सुधार आउँछ नै मानसिक स्वास्थ्यमा समेत उल्लेख्य सुधार आउने हुन्छ।
यद्यपि मानिसको जीवनमा थोरै तनाव हुनु भने सामान्यतया राम्रो हुन सक्छ। किनकि त्यसले व्यक्तिलाई आफ्नो लक्ष्यप्रति केन्द्रित पार्ने र जीवनको उद्देश्यमा पुग्न अभिप्रेरित गर्नुका साथै उसको जीवनको रेखदेख गर्ने तथा अरू थुप्रै कार्यहरू गर्न सफलता प्रदान गर्छ।
मानिसले तनावका कारण आफ्नो शरीरमा शारीरिक र मानसिक प्रभाव पार्न थाल्नुभन्दा पहिल्यै त्यसलाई कसरी न्यूनीकरण गर्ने भन्ने कला सिक्नु जरुरी हुन्छ। तनावलाई कम पार्ने केही सरल तरिकाहरू यस प्रकार छन् :
– आफ्नो नियमित दैनिक क्रियाकलापमा थोरै मात्र भए पनि शारीरिक व्यायाम, ध्यान वा मन, मस्तिष्कलाई विश्राम दिने खालका व्यायाम गर्ने वा हिँड्ने बानी गरौं।
– दैनिक कार्यतालिकाको फेहरिस्त बनाई त्यसै अनुरूप आफूलाई व्यस्त राख्ने प्रयास गरौं।
– दैनिक रूपमा आफूलाई शान्त र संयमित राख्न केही समय छुट्टयाऔं।
– आफ्नो सोख वा जुन कार्य गर्दा आफूलाई सन्तुष्टि/सन्तृप्ति प्राप्त भएको महसुस हुन्छ, त्यसखाले कामका लागि समय निकाल्ने गरौं।
– आफ्नो चिन्ताका विषयहरूलाई नोट गरौं, दिनको अन्त्यमा त्यो नोटलाई एउटा बक्समा खसालौं र आफू चिन्तामुक्त भएको महसुस गरौं।
– स्वस्थ र जिम्मेवारपूर्वक खाने/पिउने बानी गरौं। आफ्नो शरीर र मस्तिष्कलाई नै प्रभाव पार्ने गरी पिउने र धूमपान गर्ने बानी त्यागौं।
– आफ्नो जीवनमा आफूले परिवर्तन गर्न सक्ने र बदल्न सक्ने कार्यहरूमा मात्रै जिम्मेवारी लिने वा प्रयत्न गर्ने तथा आफ्नो काबु (नियन्त्रण) भन्दा बाहिर छ, त्यसतर्फ चिन्ता गर्ने बानी छोडिदिने गरौं।
– हरेक समस्यालाई एकैपटक सुल्झाउन प्रयास गर्ने बानी सम्भव भएसम्म हटाउने र हालको कुनै मुख्य बानी व्यहोरा (जस्तो: अनुपयुक्त खाना खाने, निष्क्रिय जीवनशैली बिताउने आदि) सच्याएर जीवनको वास्तविक लक्ष्यतर्फ अघि बढ्ने प्रयास गरौं।
जीवनमा सकारात्मक सोच राख्नु र स्वस्थकर जीवनशैली अपनाउनु तनाव, बेचैनी र चिन्ता हटाउन अति नै महत्त्वपूर्ण तत्त्व हुन्।
कुनै पनि व्यक्तिले आफूसँग के राम्रो गुण छ र त्यसलाई अझै कसरी सुधार्ने भन्नेतर्फ लाग्नु नै श्रेयष्कर हुन्छ। त्यसले निश्चय नै निजको शारीरिक र मानसिक स्वास्थ्यको अवस्थामा सुधार ल्याउने छ।
त्यसका बाबजुद पनि यदि कसैमा मानसिक तनाव, चिन्ता, आदि छन् भने आउनुहोस् मनोशारीरिक परामर्शद्वारा तिनलाई न्यूनीकरण र निराकरण गर्ने प्रयास गरौं।
(लेखिका नर्भिक इन्टरनेसनल हस्पिटलमा कार्यरत मनोवैज्ञानिक परामर्शदाता हुन्।)