जातीय संघीयताले केही गर्दैन, द्धन्द्ध मात्रै बढाउन मद्धत गर्छ : गृहमन्त्री गौतम

फागुन ८, काठमाडौँ –  उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले जातीय संघीयताले मुलुकमा द्धन्द्ध बढाउन सघाउ पुर्याउने बताएका छन् । उनले एकात्मक र केन्द्रीकृत राज्यबाट सङ्घीयतामा जाने राजनीतिक उद्घोष भइसकेको अवस्थामा जातीय,सामाजिक र आर्थिक सन्तुलनमा खलल नहुने गरी राज्यको पुनःसंरचना हुनुपर्ने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित ‘शिक्षा र सङ्घीयता’ विषयको सम्मेलनको उद्घाटन गर्दै नेपाललाई जातीयताका आधारमा छिन्नभिन्न गर्न नसकिने र त्यसले देशको अखण्डता नजोगिने बताउँदै गौतमले त्यस्तो कदमले देश द्धन्द्धमा फस्ने बताए ।

गृहमन्त्री गौतमले तराईलाई एउटै प्रदेश बनाउने प्रस्ताव मान्य नहुने बताउँदै उत्तरदेखि दक्षिणमा आधारमा राज्य पुनःसंरचनामा जान सकिने तथा तराईमा दुई प्रदेशसम्मका लागि मान्न सकिने स्पष्ट पारे । उनले परीक्षामा सामेल भएपछि अनुत्तीर्ण नहुने र लगानी खेर जाने शिक्षा नीति हुन नहुने जनाउँदै सरकारको व्यवस्थापकीय कमजोरीका कारण निजी विद्यालयप्रति आकर्षण देखिएको प्रष्ट पारे ।