यस्तो सहमतिपछि माथिल्लो तामाकोशीको शेयर विवाद मिल्यो

फागुन ५, दोलखा- माथिल्लो तामाकोसी जलविद्युत आयोजना र जिल्लास्थित दलहरुकाबीच ८ बुँदे सहमति भएपछि शेयर वितरणमा देखिएको विवाद मिलेको छ ।

दोलखावासीलाई दिने १० प्रतिशत सेयरको वितरण प्रकृयाको विषयमा विरोध गर्दै आएका दलहरुले हिजो आयोजनासँग सहमति गरेका हुन् । जिल्ला स्तरीय समन्वय समितिको बैठकमा दोलखावासीले ७० कित्ताको दरले समान रुपमा शेयर खरिदका लागि आवेदन दिने, गरिव तथा विपन्न परिवारका लागि आयोजना जमानी बसी सेयर धितो राखेर बैङ्कहरुबाट ऋण लिने व्यवस्था गर्ने, हरेक गाविसमा सेयरको लागि आवेदन सङ्कलन केन्द्र स्थापना गर्ने सहमति भएको छ ।
त्यस्तै विदेशमा रहेका दोलखालीलाई आवेदन दिनका लागि सहज व्यवस्था मिलाउने, आयोजनामा लगानि गर्ने संस्थाका कर्मचारीलाई दिईने सेयरमा न्यायोचित वितरणको व्यवस्था मिलाउने, आयोजानको लगानि बढे दोलखाली जनता र कार्यालयले लगानि गर्ने वातावरण बनाउने लगाएतमा निर्णय गरेपछि दलहरु सेयर वितरण प्रकृयामा सहमत भएका हुन ।
समन्वय समितिले दोलखा जिल्लाको हकमा आगामी चैत्र १ गते देखि सेयर आवेदन सङ्कलनको व्यवस्था गर्ने र समितिको सिफारीसमा अवधि थप गर्न सक्ने निर्णय समेत गरेको स्थानिय विकास अधिकारी रेशमलाल कँडेलले जानकारी दिनुभयो ।