फागुन २, म्याग्दी – चालु आर्थिक वर्षको माघ मसान्तसम्म म्याग्दीमा सञ्चालन भइरहेको ७२७ वटा साना तथा घरेलु उद्योगमा रु एक अर्ब ६० करोड लगानी भएको छ ।
म्याग्दी जिल्लामा हालसम्म सञ्चालनमा आएका उद्योगको सङ्ख्या ७२७ पुगेको घरेलु तथा साना उद्योग विकास समितिले जानकारी दिएको छ ।
अघिल्लो आर्थिक वर्षसम्म जिल्लामा ६०० वटा घरेलु तथा साना उद्योग सञ्चालनमा रहेका थिए । सबै उद्योगमा गरी करिब रु एक अर्ब ६० करोडको लगानी भएको समितिले बताएको छ ।
म्याग्दीमा कुखुरापालन, कुटानीपिसानी मिल, फर्निचर, दूध डेरी र मोबाइल मर्मत केन्द्र थपिँदै गएका छन् । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीका अनुसार जिल्लामा २१२ कुखुरापालन, ७६ कुटानीपिसानी, ३२ वटा फर्निचर उद्योग, ७९ वटा दूध डेरीलगायतका साना तथा घरेलु उद्योग सञ्चालन भइरहेका छन् ।
यी सबै उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष गरी करिब पाँच हजारजनाले रोजगारी प्राप्त गरेका र मासिक रु ३० करोडभन्दा बढीको कारोबार हुने गरेको प्रारम्भिक अध्ययनले देखाएको समितिले बताएको छ ।
अघिल्लो आर्थिक वर्षमा ५३ वटा नयाँ साना उद्योग दर्ता भएकामा आर्थिक वर्ष ०६९/७० को असारसम्म १२७ नयाँ उद्योग दर्ता भएर सञ्चालनमा आएको समितिका वरिष्ठ उद्योग अधिकृत रमेशराज रेग्मीले जानकारी दिनुभयो ।