माघ ३, काठमाडौं । पछिल्लो समय नेपाली पात्रोमा सबैभन्दा हेरीने र सम्झिने मिति बनेको छ माघ ८ । दलहरुले दोश्रो संविधानसभाको निर्वाचनमा जाने ताका भोटमाग्ने बहानाका रुपमा माघ ८ मै संविधान दिने कवुल गरेपछि यो मिति एकाएक चर्चामा आएको हो । यसैबिच दलहरुले संविधान जारी गर्न आफैंले तोकेको समय नजिकिएपछि दलहरुमा बेचैनी बढेको छ । माघ ८ आउन ५ दिनमात्र बाँकी रहँदा पनि नेताहरुले सहमति कि प्रक्रिया भन्ने विवाद नै टुंगो गरेका छैनन् ।
सत्तारुढ घटकहरु दुई तिहाइ बहुमतका आधारमा संविधानको मस्यौदा बनाउन प्रक्रिया थाल्नुपर्ने पक्षमा छन् भने विपक्षी घटकहरु कुनै हालतमा पनि प्रक्रिया थाल्न नदिने जिद्दीमा छन् । त्यसका लागि उनीहरुले सदनदेखि सडकसम्म अवरोध थालेका छन् । यही अन्यौलको समाधान खोज्न आजपनि बिहानैदेखि मुख्य चार दलका नेताहरु छलफलमा जुटेका छन् ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसहित कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठक संविधानसभा भवन नयाँ बानेश्वरमा भइरहेको हो । आज दिनभर बसेर भएपनि निष्कर्ष निकाल्ने नेताहरुले बताएका छन् । दलहरुबीच संघीयता, शासकीय स्वरुप, न्याय र निर्वाचन प्रणालीमा विवाद रहेको छ ।