सिमरा कप गोल्डकप आजदेखि, उद्घाटन खेलमा आयोजक र एफसी पोताला आज भिड्दै

माघ १,बारा- बाराको सिमरामा आजदेखि रुस्लान सिमरा गोल्डकप आमन्त्रण फूटवल प्रतियोगिताको छैठौं संस्करण सुरु हँुदैछ । मोफसलकै सर्वाधिक पुरस्कार राशीको फूटवल प्रतियोगिताको उद्घाटन खेलमा आज साविक बिजेता आयोजक नव जनजागृति युवा क्लब र एफसी पोताला क्लब भिड्दैछन् । दुई टिम बिचको खेल सिमरा रंगशालामा दिउसो २ बजे शुरु हुनेछ ।

त्यसअघि प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले गर्नुहुनेछ । माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भिएसएस डन्लप क्लब कोलकत्ता, लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लब, थ्रिस्टार क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपिएफ क्लब, सहारा क्लब पोखरा, गत बर्षको उपबिजेता वीरगञ्ज युनाईटेड क्लबको सहभागीता रहेको छ ।

प्रतियोगिताको विजेताले ४ लाख र उपबिजेताले २ लाख हात पार्नेछन् । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिने क्लबका अध्यक्ष कासिम मियाले जानकारी दिनुभयो । त्यस्तै उत्कृष्ट डिफेन्स, गोलरक्षक, फरवार्ड, मिडफिल्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई पनि जनही १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।