-लक्की चौधरी-
एकआपसमा रमाइलो गर्ने, साथी–भाइबीच भातृत्वप्रेम तथा आदरसम्मान गर्न सिकाउने ‘माघी’ थारुको नयाँवर्ष हो । नयाँ नीति, नियम बनाउने, कार्यान्वयनको प्रतिवद्धता गर्ने तथा नयाँ कामको जिम्मेवारी बाँडफाँट गर्ने माघीले वर्षभरिको कामको समिक्षा गर्दछ । थारुको मौलिकता बोकेको ऐतिहासिक् चाड माघी विकासे पर्व हो । यसले ‘मेरो हैन हाम्रो’ भावनाको विकास गर्छ । पूर्खाको आशीर्वाद, आफूभन्दा ठूलाको आदर र सानालाई मायागर्ने भावनाको विकास गर्छ । विवाहगरी गएका चेलीबेटीलाई उपहार दिने र उनीहरुको सुख–दुःखको कुरा अभिभावकबाट जानकारी लिनेकाम यसै पर्वमा हुन्छ । थारुहरु माघीमा गम्भीर समिक्षा गर्दै नयाँ नेतृत्व चयन गर्छन् । असक्षमलाई मिल्काएर सक्षमलाई नेतृत्व दिन्छन् ।
माघेसंक्रान्तिका दिन नदी, पोखरी तथा जलासयमा गएर नुहाउँदा मोक्ष प्राप्तीहुने जनविश्वास छ । जलदेवतालाई पैसा चढाएरमात्र माघीमा नुहाउने गर्छन् । कामको सिलसिलामा घरबाहिर गएकाहरु माघीमा अनुकुलता मिलाएर अनिवार्य घर फर्कन्छन् । थारुगाउँ भलमन्सा (बरघर) को नेतृत्वमा चल्ने गर्दछ । नेतृत्व कसलाई दिने, उसको पारिश्रमिक कति तोक्ने निक्र्यौल यसै महिनामा हुन्छ । गाउँको नेतृत्वकर्ता (बरघर) गाउँको पूजारी (चिरक्या) र हुलाकीको कामगर्ने (चौकीदार) को चयनहुन्छ । उनीहरुको वर्षभरिको पारिश्रमिक र जिम्मेवारी तोकिन्छ । घरको अनुशासन घरमुलीले कायम गर्छ भने गाउँको बरघरले गर्दछ । माघेसंक्रान्ति मकरसंक्रान्तिसँगै पर्नेहुनाले त्यसदिन अशुभ काम गरिदैन । थारुहरु पुसको अन्तिम दिन नै मासुका लागि सुंगुर–बंगुर काट्ने गर्छन् । जसलाई थारुभाषामा “जीतामार्ने” भनिन्छ ।
यस पर्वमा थारुहरु आफ्ना चेलीबेटीलाई गच्छअनुसार उपहार टक्र्याउँछन् । उपहारमा चामल, दाल, नून, नगद, लत्ताकपडा तथा अन्य सामग्री पनि हुन्छ । विवाहगरी गएका चेलीलाई मात्र सो सामान उपहारस्वरुप दिने गरिन्छ । जसलाई थारुमा ‘निसराउ’ दिने भनिन्छ । माघीको निसराउ नपाए चेलीबेटीहरु आफू माइतबाट उपेक्षितभएको महशुस गर्छन् । उपहारले आफ्ना चेलीबेटीसँगको सम्बन्ध सुधारको काम गर्छ । विवाहित चेलीबेटीलाई माइतमा ल्याई पाहुना सत्कार गरिन्छ । चेलीबेटीहरु पनि माइत आउन पाएपछि फुरुङ्ग हुन्छन् ।
नेतृत्व छनौट
यस पर्वले गाउँमा नयाँ नेतृत्वको छनौट गर्दछ । थारु गाउँमा भलमन्सा (बरघर) चुन्ने प्रचलन उहिलेदेखिको हो । त्यही बरघर (गाउँको अगुवा) ले गाउँको नेतृत्व गर्दै गाउँको सुखदुखमा, विकास निर्माणमा नेतृत्व गर्छ । त्यसको मातहतमा अन्य जिम्मेवारी लिने सहायक अगुवा पनि हुने गर्छन् । गाउँको नेतृत्व कसलाई दिने, उसको पारिश्रमिक कति तोक्ने यसै महिनामा निक्र्यौल हुन्छ । गाउँको नेतृत्वकर्ता (बरघर) गाउँको पूजारी (चिरक्या) र हुलाकीको कामगर्ने (चौकीदार) को नयाँ व्यवस्था गरिन्छ । उनीहरुको वर्षभरिको पारिश्रमिक र जिम्मेवारी तोकिन्छ । वर्षभरिको घरको नाफानोक्सानको समिक्षा गरी चित्तबुझ्दो भए घरमुली पुनः एकवर्षका लागि नियुक्त गर्ने, नभए अर्को व्यवस्था गरिन्छ ।
बर्षभरिको कामको जिम्मा लिएको बरघरले काम चित्तबुझ्दो नगरे छलफलबाट उसलाई बीचैमा लोकतान्त्रिक प्रक्रियाले हटाउन सकिन्छ । थारुहरु बरघर छनौटगर्दा गाउँको सक्षम व्यक्तिको चयन गर्दछन् । पुरुष या महिला जो नेतृत्वका लागि सक्षम हुन्छ त्यही नै बरघरको जिम्मेवारी सम्हाल्ने मौका पाउँछ । थारु गाउँमा महिलाहरु बरघर हुने प्रचलन उहिलेदेखिको हो । तर संख्यात्मकरुपमा महिला बरघर भएको निकै कम उदाहरण छ ।
जीतामार्ने चलन
माघेसंक्रान्ति मकरसंक्रान्तिसँगै पर्नेहुनाले त्यसदिन अशुभकाम गरिदैन । थारुहरु पुसको अन्तिम दिन नै मासुका लागि सुंगुर–बंगुर काट्ने गर्छन् । जसलाई थारु भाषामा “जीतामार्ने” भनिन्छ । मासुको लागि जीता भरसक गाउँबाटै खोज्ने गरिन्छ । त्यो सम्भव नभए अन्य गाउँ ठाउँमा गएर पनि सुंगुर–बंगुर खरिदगर्ने चलन छ । गाउँको भलमन्साको घरमा सामुहिक जम्मा भई मासुकाटेर भाग लगाई सस्तो मूल्यमा वितरण गरिन्छ । मासु खानपाइने हुनाले सो दिन गाउँघरका केटाकेटीहरु निकै फुरुङ्ग हुनेगर्छन् । माघेसंक्रान्तिका दिन गेडागुडीका चोखो परिकार पनि बनाउने गरिन्छ ।
माघीको परिकार
विशेषगरी माघीमा थारुहरु ढिक्री, मुरही, खिचरी, तिलको लड्डु, खँरिया, अण्डीभात, सखरखण्ड, तरुल, माछा, गंगटा, मासु, जाँड र त्यसको झोल एवं दारुलगायतका परिकार खानेगर्दछन् । माघेसंक्रान्तिको अघिल्लो दिन रातभरी जाग्राम बसी धुमरु गीत तथा डफुहरु बजाई मनोरञ्जन गर्छन् । माघीपर्वमा प्रायः सबै घरमा जाँड र दारुको व्यवस्था गरिएको हुन्छ । घरमै उत्पादन गरिएका अन्नका ती जाँडहरु सत्कारस्वरुप पाहुना तथा घरगाउँका सदस्यलाई सगुनकोरुपमा खान दिइन्छ । अघिपछि काममा व्यस्तहुने थारुहरु चाडपर्वमा खुलेरै रमाइलो गर्छन् ।
माघीको नाचगान
पुसको अन्तिम दिनबाट शुरुहुने माघीपर्व करिब साताभरी मनाइन्छ । पहिलोदिन माघेसंक्रान्ति, दोस्रोदिन खिचडीभात पकाइखाने ‘खिच्रहुवा’ मनाइन्छ । यसदिनबाट माघी दिवानी शुरु हुन्छ । त्यसपश्चात् साताभरी नाचगान गरी रमाइलो गरिन्छ । गाउँमा केटाकेटी, उमेरले अधवैसे तथा बुढाबुढीको अलग–अलग समूह बनाई नाचिन्छ । सामुहिक नाचले गर्दा हप्तादिनसम्म गाउँ नै गुञ्जयमान हुन्छ । माघीमा मघौटा, छोक्रा, हुरडंग्वा, झुमरा लगायतको नाच नाचिन्छ । नाचसँगै जाँडकोझोल र रक्सी पिउने चलन छ । जसलाई थारुमा ‘छाँकी पिलाएको’ भनिन्छ । थारुहरु माघीको अतिरिक्त, दशैं, तिहार, होली, अतवारी, जितिया, सिरुवा, कृष्णाष्टमी, गुरिया, छठ, भजहर लगायतका चाडहरु धुमधामसँग मनाउँछन् ।
सद्भावमा विस्तार
सामाजिक सद्भाव कायमगर्नु माघीको अर्को सकारात्मक पक्ष हो । समाजमा भएगरेका विकृति, विसंगति तथा आपसी वैमनस्यतालाई त्याग्नेकाम यस चाडले गर्दछ । पुराना रिसरागलाई हटाई नयाँ सम्बन्धको शुरुवात गर्छ । पुर्खौदेखि चलनचल्तीमा रहेको पर्वलाई कायमै राख्नुले संस्कृतिको संरक्षण, प्रवद्र्धन हुने र भाइबन्धु, बान्धवसँग भेटघाटको उपयुक्त वातावरण बन्छ । आपसी सहयोगको भावना बढाउँछ । कामको सिलसिलामा घर, देश बाहिर गएकाहरुलाई एकैथलोमा जमघट हुने अवसर जुराउँछ ।
रुपान्तरणको खोजी
थारु समुदायमा जाँड र दारु नभए पाहुनाको सत्कार गरेको मानिन्न भन्ने गलत मनसाय रहेको छ । अहिलेको सन्दर्भमा यो उपयुक्त छैन । इष्टमित्र तथा पाहुनालाई सत्कारगर्ने, स्वागत गर्ने अन्य विकल्प छँदाछँदै पनि परम्परागत रुपमै चल्नु युग सुहाउँदो होइन । थारुको देवताले पनि जाँड र दारु लिन्छन् भन्ने गलत विश्वास थारुहरुमा छ । रमाइलो गर्ने नाममा सीमाभन्दा वढी जाँड रक्सी खानु र खुवाउनु अर्को कमजोर पक्ष हो । महिनादिन पुग्ने अन्नले बनेको जाँड र रक्सी साताभरमा खाएर सक्काउने गलत परिपाटीको अन्त्य हुन जरुरी छ । साँझ विहान दुईछाक खान नपुग्ने घरमा जाँड, रक्सीको कमी नहुनु गलत पक्ष हो । सोही अन्नको बचत गरी बजारमा विक्री गरेर बालबच्चा पढाउने काममा सो रकम सदुपयोग गर्नसके समाज रुपान्तरणमा ठोस सहयोग पुग्ने देखिन्छ ।
सुधारको खाँचो-
विगतमा थारुकालागि यो पर्व अभिसाप जस्तै थियो । जमिन्दारको घरमा कमैया र कम्लहरी राख्ने प्रचलन माघीबाटै शुरुहुन्थ्यो । एउटा कमैयालाई छारागर्ने र अर्कोलाई पशु किनेजस्तै खरिदगरी दास जिवन जिउन बाध्य पारिन्थ्यो । वि.सं. २०५७ साल साउन २ गते तत्कालिन सरकारले कमैयालाई मुक्त घोषणा गरेपछि कमैयाप्रथाको अन्त्य भयो । २०७० साउन ३ गते कमलहरी प्रथा अन्त्यको पनि सरकारले घोषणा गर्यो तर त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेन । अरुको घरमा सानैदेखि निकै थोरै ज्यालामा कामगर्ने चेलीबेटीलाई कम्लहरी भनिन्छ । यो प्रथा अझै विद्यमान छ । थारु समुदायले माघीलाई उल्लासकासाथ मनाउँछन् । तर यससँगै घरको श्रीसम्पत्ति बाँडफाँड गर्ने, भाइभाइ अलग हुने जस्ता कामको शुरुवात पनि माघ महिनाबाटै शुरु गर्छन् । यस्तो कामले उल्लासमय माघीपर्वलाई केही दिनमै निराश बनाउँछ ।
सरकारबाट आशा-
थारु समुदायले परापूर्वकालदेखि माघीपर्व मनाउँदै आएपनि सरकारले २०५९ सालबाट मात्र थारु कर्मचारीलाई विदाको व्यवस्था गर्यो । २०६४ बाट माघी पर्वलाई राष्ट्रियपर्व घोषणा गरेर एकदिन सार्वजनिक विदादिने व्यवस्था गर्यो । माघ १ गते सबै समुदायले माघेसंक्रान्ति पर्व मनाउने गर्छन् । माघीपर्व थारुको नयाँवर्ष भएकाले कम्तिमा थारुलाई दुईदिन थप सार्वजनिक विदा दिनुपर्ने माग थारु समुदायको रहँदैआएको छ । सरकारले यसको अझै सुनुवाई गरेको छैन ।
मुक्त कमैयाहरुको अझै पूर्णतः पुनस्र्थापना हुन सकेको छैन । थारुगाउँमा माघीको रौनक छाइरहँदा मुक्तकमैया वस्तीमा विचल्ली हुन्छ । पुनस्र्थापनाको काममा सरकारले ढिलाई गरिनु हुन्न । २०६८ को जनगणनाअनुसार थारुको जनसंख्या १७ लाख ३७ हजार ४७० रहेको छ । पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्म तराईको समथर भूभागमा थारुहरु बसोबास गर्छन् । उपत्यकासहित २४ जिल्लामा यी समुदायको बसोबास छ ।
(लेखक नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं थारु पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।)