पुस १५, काठमाडौं -फलाम धितो राखेर सुनबराबरको लाखौं रुपैयाँ कर्जा लिई बैंक ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । नक्कली सुन धितो राखेर जनता बैंक ठगी गर्ने सिन्धुपालचोकका मोहन सुनुवार पक्राउ परेका छन् ।
सुनुवारले सुनको लेप लगाइएको करिब एक किलो फलाम धितो राखेर २८ लाख ५९ हजार रुपैयाँ कर्जा लिएका हुन् । पछि बैंकले शंका लागी छानविन गर्दा उनले सुनको भनेर राखेका गहना फलामको रहेको पाइएको नयाँ पत्रिकामा खबर छ । बैंकले नियन्त्रणमा लिइ तीन साताअघि उनलाई प्रहरीमा बुझाएको थियो । मिलेमतोका आशंकामा बैंकका कर्मचारी सगुन ताम्राकारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
जनता बैंक चाबहिल शाखाबाट उनले १६ पटक कर्जा लिएका थिए । बैंकका सुरक्षा गार्डले सुनुवारलाई चिनेपछि बैंक थप ठगिनबाट जोगिएको हो । सुनुवार बैंकमा कर्जा लिन आएको देखेपछि बैंकका एक गार्डले मेनेजरलाई बताएका थिए । सुनुवारले पहिला पनि त्यसैगरी सिन्धु विकास बैंक र नेपाल बैंकलाई ठगी गरिसकेका थिए । तर, ती, बैंकले आन्तरिक रुपमा उक्त केस मिलाएका थिए ।