एक सातादेखि जिल्लामा यातायात ठप्प

 पुस  ८, चितवन-चितवनमा एक साता देखि स्थानीय सवारीसाधन ठप्प छन् ।यातायात व्यवसायीको रुट विवादका कारण यहाँका विभिन्न क्षेत्रमा चल्ने गाडी एक सातादेखि नचल्दा यात्रुलाई सास्ती भएको छ ।      सातवटा  यातायात व्यवसायीसँग आबद्ध रहेका गाडी बन्द हुँदा यात्रुलाई सास्ती भएको हो । सहमति विपरीत चितवन टेम्पु, माइक्रो तथा मिनीबस व्यवसायी समितिले चितवनका विभिन्न क्षेत्रमा गाडी सञ्चालन गरेको भन्दै अन्य व्यवसायी आन्दोलित भएका छन् ।

सहमति विपरीत यातायात मनपरी रूपमा सञ्चालन गरिएको भन्दै जिल्लामा चलिरहेको चितवन यातायात व्यवसायी सङ्घ, चितवन माइक्रो र ओमशान्ति माइक्रो बस व्यवसायी सङ्घलगायत आन्दोलित भएका हुन् ।     यही पुस २ गतेबाट यी व्यवसायी सङ्घसँग आबद्ध सवारी सञ्चालनमा रोक लगाएर चाबी चितवन प्रशासनमा बुझाई आन्दोलन थालिएको व्यवसायी बद्री पौडेलले बताउनुभयो । मङ्सिरबाट चितवन टेम्पु तथा माइक्रो मिनीबस व्यवसायीले विगतको सहमतिबिना चितवनको भरतपुरबाट रत्ननगर तथा पश्चिमी क्षेत्रमा नयाँ गाडी थपेर नयाँ रुटमा चलाउन थालेको थियो ।