भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर जान्छु नै कहिले भनेका थिए? हो, चार महिनाअघि पशुपतिनाथ दर्शनका लागि आउँदा संसद्मा भाषण गर्ने क्रममा मोदीले सार्कमा नेपाल आएका बेला ‘राजा जनकको जनकपुर’ र ‘गौतम बुद्धको लुम्बिनी’ जाने इच्छा देखाएका थिए।
जनकपुर र लु िबनी जानेबारे आधिकारिक सूचना थिएन त्यो, नेपालका दुई आध्यात्मिक भूमिमा पाइला टेक्ने उनको इच्छाको अभिव्यक्ति मात्र थियो। एउटा प्रधानमन्त्रीको भ्रमण निर्धारित गर्न औपचारिकताका अनेक चरण हुन्छन्। हामीले भने उनको इच्छालाई अन्तिम निर्णय र कर्तव्य नै मान्यौं। भारतीय कार्यकारी प्रमुखले नेपालको संसद्मा गरेको सम्बोधनलाई कूटनीतिको एउटा हिस्सा भन्ठानेनौं, सिलोटमा कुँदेका अक्षर भन्ठान्यौं।
ठान्यौं- मोदी अब जनकपुर नगई छोड्दैनन्। यति पुलकित भयौं मानौं, मोदी नगएरै अहिलसम्म जनकपुर वा लुम्बिनीले उचित अन्तर्राष्ट्रिय महत्त्व वा विकास नपाएको हो।
उनले संसद्मा बुद्ध नेपालमा जन्मिएका हुन् भन्दा पर्रर ताली पिट्यौं। नेपाल सार्वभौम मुलुक हो भन्दा खुसीको अतिरेकताले मुसुमुसु मुस्कुरायौं। नेपाली नेता र जनतालाई केही तुक्का, केही कथा र केही प्रवचन सुनाएर मोदीले वाहवाही बटुले। हामीले जयजयकार गर्यौं।
फुरुक्क फुर्किएर नेपालले अकूटनीतिको एउटा नमुना प्रस्तुत गर्यो।
सार्कमा आउने क्रममा मोदी जनकपुरबाट सडक मार्ग हुँदै नेपाल पस्ने, त्यहाँ सार्वजनिक सम्बोधन गर्ने र केही हजार थान साइकल बाँड्ने प्रस्ताव करिब एक महिनाअघि भारतीय पक्षले नेपाली पक्षसँग राख्यो।
सरकारी स्तरमा भारतले राखेको प्रस्ताव हाम्रा मन्त्री, उच्च सुरक्षा अधिकारी र सरकारी अधिकारीहरूले एक कान दुई कान हुँदै सर्वत्र फैलियो। प्रस्तावलाई अन्तिम निर्णय मान्ने भूल ग:यौं। भारतीय प्रस्ताव बाहिर आएपछि जे नहुनुपर्थ्यो, त्यही भयो। विरोध भयो, समर्थन भयो। गठबन्धन सरकारका मन्त्रीहरू विभाजित भए। कतिपयलाई भारतको चाकरी बजाउने अवसर बन्यो त्यो, कतिपयलाई भारतविरुद्ध भाषणबाजी गर्ने।
समग्रमा अकूटनीति सार्वजनिक गर्ने अर्को मौका बन्यो उच्च नेता, कर्मचारी र सुरक्षा अधिकारीहरूका लागि भारतको त्यो प्रस्ताव। तर, कुनै पनि अवस्थामा त्यसलाई हामीले भारतको प्रस्तावका रूपमा देखाएनौॅ। त्यसलाई आफ्नै प्रस्ताव र आफ्नै कर्तव्य ठान्यौं।
इच्छा, प्रस्ताव र निर्णयबीचका फरक हामीले बुझ्न सकेनौं। कूटनीतिको संवेदनशीलता ख्याल गरेनौं। ढोलमात्र पिटिरह्यौं।
सरकार पक्षले सार्वजनिक सम्बोधन र साइकल बाँड्ने कार्यक्रमबारे तत्काल कुनै जवाफ दिन सकेन। केही नेताहरू यो नेपालको सार्वभौमसत्तामाथि भारतको प्रहार हो भन्ने प्रतिक्रिया दिन व्यस्त भए।
सार्कका लागि नेपाल आएका अन्य राष्ट्रप्रमुखले पनि सार्वजनिक भाषण वा कार्यक्रम राख्न चाहे भने कस्तो जवाफ दिने भन्ने प्रश्न उठे। राष्ट्रपति र सभामुखले समेत मोदीलाई जनकपुरमा सार्वजनिक सम्बोधन गर्न नदिन उच्चस्तरमा पहल गरिरहेको सूचना आयो।
त्यो अत्यन्त संवेदनशील विषयमा हाम्रो चाल कमजोर र अप्रभावकारी रह्यो।
सरकारले सुरक्षित बाटो निकाल्यो, जानकी मन्दिर दर्शनका क्रममा मोदीलाई सार्वजनिक अभिनन्दन गर्ने र त्यहीं प्रत्युत्तरमा उनलाई भाषण गर्न दिने योजना बनायो।
बिहीबार भारतीय सुरक्षा स्रोतले मोदी जनकपुरको बाटो नेपाल नआउन सक्ने जानकारी नेपाली सुरक्षा स्रोतलाई दिएपछि जनकपुरमा बिहानैदेखि हुटहुटी बढ्यो। मोदी आउने हल्लाले अत्यन्त उत्साहित जनकपुरमा निराशाको गहिरो बादल देखिन थाल्यो। मोदीको भ्रमणमा ठूलै विकास र अग्रगमनको सपना बुन्न थालिसकेको जनकपुर हिस्स भयो।
मोदीको सवारी चलाउन जनकपुरमै रहेका यातायातमन्त्री विमलेन्द्र निधिले भारतीय दूतावासका प्रवक्ता अभय कुमारको टेलिफोन संवादलाई पत्रकारले स्कुप पाएजसरी विज्ञप्तिमार्फत छताछुल्ल गरिदिए। उनले घोषणा गरिदिए- सुरक्षाका कारण मोदी जनकपुर आउँदैनन्।
उनको पहुँच राजदूत रञ्जित रेसम्म पनि देखिएन, प्रवक्ता अभयकुमारको मौखिक जानकारीलाई अन्तिम सत्य माने। भोलिपल्ट सञ्चारमाध्यमहरूमा निधिले फेरि आफ्नो पुरुषार्थको बखान गरे। विज्ञप्ति जारी गर्ने क्रममा निधिले न प्रधानमन्त्रीसँग सल्लाह गरे, न मोदी भ्रमणको समन्वय गर्ने आधिकारिक अधिकारी परराष्ट्रमन्त्रीसँग।
सरकारको उच्च संयन्त्रमा समन्वय भन्ने कुनै चीज हुँदैन?
निधि वक्तव्यले हल्लीखल्ली भयो। शुक्रबार प्रधानमन्त्री सुशील कोइरालाले मोदीलाई जसरी पनि जनकपुर लैजान पहल थाले। जानकी मन्दिरमा उनको अभिनन्दन गर्ने र उनले प्रत्युत्तरमा केही बोल्ने पुरानो कार्यक्रमलाई भव्यताको लेपन लगाउँदै बाह्रबिघा मैदानस्थित रंगभूमि मैदानमै उनलाई सार्वजनिक सम्बोधन गर्न दिने कार्यक्रम बन्यो। भारतीय पक्षले अझै कुनै स्पष्ट प्रतिक्रिया दिएन। राजदूत रञ्जित रेले भने मोदीको जनकपुर यात्रा रद्द गर्नेबारे भारतले कुनै औपचारिक जानकारी नगराएको बताए।
नेपाली कूटनीतिको निरिहता सार्वजनिक भयो। उनी आउने कुनै ठोस सूचना नभए पनि मोदीलाई ‘फकाउन’ सरकारले बाह्रबिघाको रंगभूमि मैदान सजाउन सुरु गर्यो।
दस लाख खर्च गरेर रातारात रंगभूमि मैदान सिँगार्न थालियो। भारतको सिलिगुडीबाट दुई लाखको फूल मगाइयो। मोदीलाई बस्न डेढ लाखको सोफा अर्डर गरियो। दुई लाखका मोदीका तस्बिर अंकित पोस्टर बनाउन थालियो। अढाइ लाखको खर्चमा नेपाल र भारतका झन्डा सिलाउन सुरु भयो। मन्त्रीले त्यसको अगुवाइ गरे। आवेगात्मक कूटनीतिको नमुना प्रकट भयो।
शनिबार मोदी भ्रमणबारे अन्तिम कार्यक्रम सार्वजनिक गर्न नयाँदिल्लीस्थित भारतीय विदेश मामिला मन्त्रालयले गर्ने भनिएको पत्रकार सम्मेलन अन्तिम समयमा रद्द भयो। निर्धारित मितिभन्दा तीन दिनअघिस म पनि मोदी भ्रमणबारे औपचारिक जानकारी दिनुपर्ने आवश्यकता भारतले महसुस गरेन।
चार महिनादेखि चलेको यो इपिसोड अन्त्य गरे, आइतबार बिहान भारतीय विदेश मन्त्रालयका प्रवक्ता सइद अकबरुद्दिनले। उनले मोदीको जनकपुर भ्रमणका चार महिना लामो हुटहुटी, उत्साह वा निरुत्साह र अन्योल थेचार्दै चार लाइनको वक्तव्य जारी गरे।
चार महिनाको छटपटी र आवेगको अन्त्य चार मिनेटमै भयो, त्यो पनि चार लाइनको वक्तव्यमार्फत। नेपालप्रति भारतीय कूटनीतिको एउटा नमुना बन्यो यो सम्पूर्ण संस्करण।
सार्क बैठकमा सहभागी हुने क्रममा मोदी काठमाडौंबाहिर नजाने सूचना दिइएको वक्तव्यमा लेखिएको छ- पछिल्लो काठमाडौं भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले खासगरी दुई देशबीचको सांस्कृतिक सम्बन्ध उजागर गर्न जनकपुर, लुम्बिनी र मुक्तिनाथ जस्ता नेपालका अन्य स्थान भ्रमण गर्ने इच्छा राखेका थिए। तर, घरेलु व्यस्तता र अन्य कार्यक्रममा कारण सार्क सम्मेलनका क्रममा उनी काठमाडौं बाहिर भ्रमण गर्दैनन्।
चार महिनाको छटपटी र आवेगको अन्त्य चार मिनेटमै भयो, त्यो पनि चार लाइनको वक्तव्यमार्फत। नेपालप्रति भारतीय कूटनीतिको एउटा नमुना बन्यो यो सम्पूर्ण संस्करण।
नेपाली नेताहरूको स्वभाव र आफूप्रतिको भक्ति वा लाचारीपना बुझेको भारतले मोदी जनकपुर जाने आधिकारिक घोषणा कहिल्यै गरेन। ‘दु:खान्तको अपजस नेपालले पाओस भनी सुनिश्चित गरे निधिले। भारतीय दूतावास यसमा मुछिएन।
भ्रमणको घोषणा नै नगरी भ्रमण रद्द गरेको जानकारी दिनु आवश्यक नै रहेन। मोदी आउने निर्धारित तिथिभन्दा दुई दिनअघि विदेश मामिला प्रवक्तामार्फत विज्ञप्ति निकालेर भारतले नेपालको व्यग्रता र आवेगलाई राम्ररी जवाफ दियो।
मोदी भ्रमण तय वा रद्द गर्ने काठमाडौंस्थित भारतीय दूतावासले होइन। भारतीय विदेश मन्त्रालयका प्रवक्ता सइद अकबरुद्दिनसँग पनि त्यो सामथ्र्य छैन। मोदीको भ्रमण भारत सरकारले तय गर्छ। अकबरुद्दिनले सरकारको आधिकारिक विज्ञप्ति जारीसम्म गर्न सक्छन्। भारतीय राजदूतले सरकारी सूचना बाहिरसम्म ल्याउन सक्छन्।
नेपाली नेताहरू भने भारतीय दूतावासका एकजना कर्मचारीकै भनाइलाई अन्तिम सत्य मानेर संवेदनशील कूटनीतिक विषयमा झ्याली पिट्छन्। मोदीको भ्रमणमा नेपाली नेताहरूले प्रयोग गरेका कमजोर कार्डले हामीलाई भुइँमै थचारिदियो।
भारतको ‘हेपाहा कूटनीति’ र नेपालको ‘रुन्चे कूटनीति’ को उदाहरण हो, मोदीको जनकपुर भ्रमण रद्द।
कूटनीति बडा होसपूर्वक खेलिनुपर्ने खेल हो। आफूलाई बराबरीको हैसियत दिलाउन नेपाली नेताहरूले आफ्ना समकक्षीसँग आँखामा आँखा जुधाएर ठोस विषयमा वार्ता गर्न सक्ने हैसियत राख्नुपर्छ।
मोदी भ्रमण रद्द हुनु दु;खी वा खुसी हुनुपर्ने विषय होइन। जनकपुर भ्रमणको आफ्नो इच्छा मोदीले कहिले पूरा गर्लान्, त्यो उनको चासोको विषय हो।
नेपाल सरकारका लागि भने मोदीले जनकपुर भ्रमण गरेनन् भनेर सुर्ता गर्नुभन्दा कूटनीतिक कार्ड कसरी खेल्नुपथ्र्यो भनेर आत्ममूल्यांकन गर्ने मौका हो यो। अझ यसको जवाफदेहीता नै लिन सके नेपाली राजनीतिले केही हदस म स मान पनि पाउँछ। साभार अन्नपुर्ण पोष्ट