बिहे नगर्दा बेफाइदा छैन : कोमल वली

मंसिर ६, काठमाडौ-
बिहे नगर्दा बेफाइदा छैन : कोमल वली
विवाहको सिजन आएपछि धेरैले सम्झिने सेलिब्रिटी हुन्, अविवाहित गायिका कोमल वली। ‘बिहे भा’ छैन’, ‘पोइल जान पाम्’ जस्ता बिहेसँग सम्बन्धित गीत गाए पनि उनी अहिलेसम्म अविवाहित छिन्। विवाह यामका रूपमा लिइने मंसिर सुरु भइसकेको छ। यही सन्दर्भमा कोमलले  बिहेसम्बन्धी आफ्ना धारणा बाँडेकी छिन्।


चुनौतीपूर्ण मंसिर
मंसिर महिनाको मौसम असाध्यै रमाइलो लाग्छ। न त धेरै जाडो, न गर्मी र अलि–अलि बादलले ढाकेको आकाशले उत्साहित बनाउँछ। लहलह झुलेका धानले समृद्धिको संकेत गर्छ। सबै कुराले भरिपूर्ण हुने भएकाले यो मौसमलाई विवाहका लागि अनुकुल ठानिएको होला। साथीभाइका विवाह, पार्टीतिर जाँदा झन् रमाउँछु। भेटघाट र रमाइलोले गर्दा मंसिर मन पर्छ। तर, मेरा लागि मंसिर चुनौतीपूर्ण पनि छ। साथीभाइ, आफन्तले सोध्छन्, ‘कहिले निम्तो आउँछ ?’ मंसिरमा पत्रकारहरूको फोन आयो वा कुराकानी गर्ने भनेर बोलाए भने मलाई ‘बिहे कहिले गर्ने ?’ प्रश्नको जबाफ दिनुपर्ला भनेर असहज हुन्छु। किनकि, मसँग यसको उत्तर छैन।
दुलहीको कल्पना
अरूले विवाह गर्दा असाध्यै रमाइलो लाग्छ। महिला दुलही हुँदा जति राम्री अरू समय देखिन्नन्। किनभने, गरहगना र पहिरनमा सजिँदा साह्रै सुन्दर देखिन्छन्। म पनि आफूलाई ती दुलहीका ठाउँमा राखेर कल्पिन्छु। कस्ती देखिउँला ? कस्तो रमाइलो होला ? यी कुरा मनमा खेलाउँछु। धेरैपटक आफूलाई दुलहीका रूपमा कल्पिएकी छु। दुलहीको साइडमा बस्नेलाई हेरेर मेरो छेउमा बस्ने भाग्यमानी को होला ? भन्ने सोच्छु। तर, अहिलेसम्म यी सब कल्पनामै सीमित छन्।
पहिलो बिहे प्रस्ताव
आईए पढ्दाखेरि पहिलोपल्ट विवाहको प्रस्ताव आएको थियो। मेरो मिल्ने साथीलाई केटा हेर्न आएको थियो। म उसको साथी भएर बसेकी थिएँ। केटाले साथीलाई अस्वीकार गर्योक। पछि थाहा भयो, उसले मलाई मन पराएछ। घरपरिवामार्फत मलाई पो विवाहको प्रस्ताव गर्योस। आफूलाई अस्वीकार गरेर मकहाँ विवाहको प्रस्ताव ल्याएको कुरा साथीले थाहा पाइछे। मसँग बोलचालै बन्द गरी। आफैँले केटालाई भेटेर बिहेका लागि म तयार नभएको बताइदिएँ।
सोच्न बाध्य पार्ने प्रस्ताव
मलाई दुई, तीनटा बिहे प्रस्तावले सोच्न बाध्य बनाएका थिए। तीमध्ये एउटा प्रस्तावमा आफूलाई मानसिक रूपमा तयार गरिरहेकी थिएँ। विवाहका लागि तयार हुन धेरै कुराको त्याग गर्नुपर्छ। म ती त्यागका लागि समेत तयार भइसकेकी थिएँ। केटा राम्रो थियो। उसको घरपरिवार राम्रो थियो। प्रतिष्ठित र धनी पनि थियो त्यो परिवार। तर, केटाको बुबाको एउटा शर्त थियो, मैले बुहारी भएर मात्रै बस्नुपर्ने। हाम्रो बुबाले भन्नुभयो, ‘तिमी कोमल वली बन्ने कि बुहारीमात्रै ?’ बुबाको सोच त यस्तो छ भने म किन सम्झौता गर्ने भन्ने भयो। मनमा केही बन्नुपर्छ भन्ने भएकाले बुहारी मात्रै भएर बस्ने कुरा स्विकार्न सकिनँ र बिहे भएन।
प्रस्ताव आउँदा खुशी
मलाई बिहेको प्रस्ताव आउन मंसिर आउनुपर्छ भन्ने नै छैन। सधैँ प्रस्ताव आइरहेका हुन्छन्। साथीभाइ, घरपरिवारले पनि भन्छन्– यस्तो केटाले तिमीलाई बिहेको प्रस्ताव गरेको छ। मन फुरुङ्ङ हुन्छ, ए हो भनेर खुशी हुन्छु। तर, त्यत्तिमै सकिन्छ । बिहे गरेको भए, मेरा पनि यतिबेला छोराछोरी हुन्थे, तिनको पठपाठनमा ब्यस्त हुन्थेँ। तर, मैले ती झञ्झट लिन चाहिनँ। सानैदेखिको आफ्नो स्वभावलाई परिवर्तन गरिनँ। त्यसैले प्रस्ताव आइरहेका छन्, म टारिरहेकी छु। एकैजनाले चार वर्षसम्म पनि प्रस्ताव गरेका थिए।
बिहे नगर्दा बेफाइदा छैन
बिहे नगर्दा मैले कुनै बेफाइदा बेहोरेकी छैन। एउटै कुरा– श्रीमती कोमल वली लेख्न पाइएन। बिहे नगर्दाको मुख्य फाइदा भनेको आफ्नै मर्जीले बाँचिरहेकी छु। घरबारमा अल्झिएकी भए आजको कोमल वली बन्न सक्दिनथेँ। सानैदेखि हठी छु। आफूले चाहेको कुरा पाउनुपर्छ। बिहेका निश्चित बन्धन हुन्छन्। तिनले मलाई यति स्वतन्त्र हुन दिन्थेनन्। झगडा छैन, रोकावट छैन। मञ्चबाट केटाहरूलाई किन ‘आई लभ यू’ भन्या भनेर कसैले निहुँ खोज्दैन। फाइदैफाइदा छन्।
दुई वर्षमा च्याप्टर क्लोज
समाजका लागि बिहे आवश्यक छ। जसले सृष्टि चलेको छ, समाज वैराग्यतिर उन्मुख हुन पाएको छैन। विवाहपछिको जीवन रंगिन हुन्छ। सन्तान बिग्रन थाल्यो भने ‘अब बिहे गर्नुपर्छ’ भनेर सपार्नकै लागि गरिन्छ। विवाहले कुलतबाट पनि जोगाउँछ। किनभने, व्यक्तिलाई घरपरिवारमा व्यस्त बनाउँछ। मैले अबका दुई वर्षमा पनि बिहे गरिनँ भने बिहेको च्याप्टर नै क्लोज हुन्छ। किनभने, त्यसपछि म पूर्णतः बिहे नगर्ने निर्णयमा पुग्नेछु। साभार शुक्रबार