मंसिर ६, काठमाडौँ-मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन अवधिभरका लागि नयाँ उडान–अवतरण तालिका बनाएको छ। आन्तरिक वायुसेवा कम्पनी तथा नेपाल उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका अधिकारीहरूसँग बुधबार र बिहीबार छलफल गरेपछि विमानस्थल व्यवस्थापनले नयाँ तालिका बनाएको हो।
विमानस्थलको पत्रअनुसार आगामी मंगलबार (मंसिर ९) बिहान ९ देखि साँझ ५ बजेसम्म सार्क सम्मेलनमा सहभागी हुन आउने विशिष्ठ पाहुनाका जहाज बाहेक कुनै पनि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान–अवतरण हुनेछैनन्। बिहान ९ अघि र साँझ ५ पछि भने सबै उडान यथावत हुनेछन्।
त्यसैगरी बुधबार (मंसिर १० मा) भने उडान–अवतरण यथावत हुनेछन्। तर, विमानस्थलमा जहाज पार्किङका लागि सीमित स्थानमात्र उपलब्ध हुने पत्रमा उल्लेख छ। आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ पार्किङ सीमित गरिएको पत्रमा छ। हाल आन्तरिकतर्फ करिब दुई दर्जन र अन्तर्राष्ट्रियतर्फ करिब एक दर्जन जहाज पार्किङ गर्न सकिन्छ। सम्बद्ध एक वायुसेवा कम्पनीका अनुसार आगामी बिहीबार (मंसिर ११ मा) बिहान ७ देखि १० बजेसम्म पनि उडान–अवतरण गर्न पाइनेछैन। १० देखि दिउँसो १ सम्म सबै उडान यथावत हुनेछन्। त्यसपछि १ बजेदेखि ४ बजेसम्म फेरि उडान नगर्न आग्रह गरिएको छ। ४ बजेपछि भने पूरै समय उडान सञ्चालन हुनेछन्।
मंसिर ९ : बिहान ९ देखि साँझ ५ बजेसम्म सार्कका पाहुनाबाहेक कुनै पनि जहाज उडान–अवतरण बन्द
मंसिर १० : सम्पूर्ण उडान यथावत तर जहाज पार्किङ क्षेत्र सीमित
मंसिर ११ : बिहान ७ देखि १० तथा दिउँसो १ देखि ४ बजेसम्म सार्क बाहेकका उडान–अवतरण बन्द
मंसिर १२ : बिहान ८ देखि दिउँसो २ बजेसम्म सार्क बाहेकका उडान–अवतरण बन्द
मंसिर ९, १० र ११ गते सार्कबाहेकका कुनै पनि जहाज रात बस्न नपाउने
– See more at: http://nagariknews.com/economy/main-story/story/28128.html#sthash.U5EGTwe7.dpuf