मंसिर ३, काठमाडौ- कांग्रेस-एमालेसंग दूरी बढेपछि एमाओवादीसहित प्रतिपक्ष दल सडक आन्दोलन गर्ने मनस्थितिमा पुगेका छन् । कांग्रेस, एमालेले बहुमतबाट पेल्न खोजेको भन्दै प्रतिपक्ष दलले आन्दोलनको विकल्प नभएको बताएका छन् । आन्दोलनका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गृहकार्य सुरु गरेका छन् ।
दाहालले मंगलबार यसबारे पार्टीका बरिष्ठ नेतासंग परामर्श गरेका छन् । कांग्रेस, एमालेलाई सडक आन्दोलनबाट मात्र दबाब पुग्ने भन्दै प्रतिपक्ष दल त्यसको तयारीमा लागेका हुन् । ‘कांग्रेस, एमाले हामीलाई आरोप लगाएर संविधान नबनाउने मनस्थितिमा पुगेको छन्,’ एमाओवादी महासचिव कृष्णबहादुर महराले भने, ‘अब सडक आन्दोलबाहेक विकल्प छैन ।’ उनले छिट्टै सडक आन्दोलनका कार्यक्रम घोषणा हुने बताए । ‘आन्दोलन घोषणा गर्नेबारे सल्लाह हुँदैछ’ उनले भने ।
केही दिनअघि प्रतिपक्ष दलहरुले फिदिम, जनकपुर र धनगढीमा दबावमूलक सभा गरिसकेका छन् । यसअघि दाहालले एमाओवादीका विभिन्न जातीय संगठनका संयुक्त राष्टिय मोर्चाको बैठकलाई सम्बोधन गर्दै आन्दोलनको तयारी गर्न निर्देशन दिएका छन् ।