कात्तिक २९, काठमाडौँ – बारी खन्दाखन्दै भाइ कुमारले एक्कासि बान्ता गर्न थाल्यो, आत्तिँदै गाउँलेलाई बोलाएर स्टेचरमा राखेर सदरमुकाम अस्पताल (सिन्धुली) पु:याएँ। सम्बन्धित डाक्टर नभएको भन्दै अस्पतालका कर्मचारीले बर्दिबास लैजान भनेपछि रातारात त्यहाँ लगें।
त्यहाँबाट सबै सेवासुविधा नि:शुल्क पाउने भन्दै वीर अस्पतालमा लैजान सल्लाह दिइयो’, वीर अस्पताल परिसरमा बिहीबार टोलाइरहेका ज्ञानेन्द्र पोखरेलले अन्नपूर्णसँग भने, ‘तर यहाँ आएको दुई दिनमै गाउँको समूहबाट ऋण गरेर ल्याएको २५ हजार सकियो, रोग पत्ता लागेको छैन।’ उनको घर सिन्धुली खोलागाउँ-७ मा पर्छ।
सात दिनअघि अस्पताल भर्ना गरिएका ३७ वर्षीय कुमारको उपचारमा उनका कान्छा भाइ नुनेन्द्रसमेत दौडधुप गरिरहेका छन्। ‘भर्ना गरेका डाक्टरले सिटिस्क्यान गर्नुपर्छ, यहाँ छैन, अन्तै गरेर रिपोर्ट देखाउनू भन्नुभयो, कहाँ जाने केही थाहा भएन, बल्लबल्ल एकजना डाक्टरलाई सोधेर दाइलाई सिभिल अस्पताल लग्यौं’, नुनेन्द्रले भने, ‘आउँदाजाँदा मात्र ट्याक्सीले एक हजार लियो, सिटिस्क्यान गर्दा सात हजार खर्च भयो, बचेको पैसा पनि औषधि र भर्ना गरेको तिर्दैमा ठिक्क भयो।’
पैसाको अभावमा ज्ञानेन्द्र र नुनेन्द्र कुमारको उपचार नि:शुल्क गर्न अस्पतालका कर्मचारी र चिकित्सकलाई हारगुहार गरिरेहका छन्। तर, कसैको ध्यान उनीहरूको समस्याप्रति गएको छैन। वीरमा सिटिस्क्यान गर्ने उपकरण नहुँदा कुमारजस्ता सयौं बिरामीले सास्तीमात्र खेप्नुपरेको छैन, वीरमा दुई हजारमा पाइने सेवाका लागि निजीमा पुगेर १० हजारसम्म खर्च गर्नुपरेको छ।
वीरमा जिल्लाबाट पठाइने र आउने ९० प्रतिशत बिरामीको दुई चार सयभन्दा बढी पैसा खर्च गर्ने क्षमता हुन्न।
‘गाउँबाट सकिनसकी बिरामी बोकेर यहाँ आयौं तर उल्टै दु:ख पाउने काम भयो’, १५ वर्षीय छोरा नजतको उपचारका लागि वीर आएका वीरगन्ज परचौनीका ग्यासु अन्सारीले गुनासो गरे, ‘बाहिर गएर सिटिस्क्यान गरेको मात्रै ११ हजार लिए, पैसा सकियो, अब कसरी उपचार गर्ने भन्ने चिन्तामा डुबेको छु।’ नजतलाई थप उपचारका लागि वीरमा भर्ना गरिएको छ। अन्नपुर्ण पोष्टमा नागरिक दैनिकमा खबर छ ।