कात्तिक १८, काठमाडौँ -व्यवस्थापिका–संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई बोलाउने निर्णय गरेको छ । आयोगले आफ्नो कार्यक्षेत्र मिचेर विभिन्न विकास आयोजनाको काम रोक्न निर्देशन दिएको र सन्दर्भमा नै नभएका विषयमा समेत चासो राखेर अनावश्यक विवाद खडा गरेका कारण छलफलका लागि बोलाइएको समितिका सभापति जनार्दन शर्माले बताए । अनियमितता भएको क्षेत्रमा आयोगले चासो राख्नु स्वभाविक भएको तर चासो राख्नु नपर्ने विषयमा समेत हस्तक्षेप गरेको ठहर गर्दै के कसो भएको हो भन्नेबारेमा जानकारी दिन सांसदहरुले माग गर्नुभएबमोजिम प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग छलफल गर्ने निर्णय समितिले गरेको हो । यस्तै, संसद्कै अर्को समिति अर्थ समितिले पनि बुधबार आयोग प्रमुख कार्कीसँग छलफल गर्ने भएको छ भने कृषि तथा जलस्रोत समितिले पनि आयोगसँग छलफल गर्ने निर्णय गरेको छ ।
आयोग प्रमुख कार्कीलाई छलफलमा बोलाइने
