कात्तिक १८, काठमाडौँ – इराकमा क्यानाडाले इस्लामिस्ट स्टेट (आइएस) लडाकूविरुद्ध आइतबार पहिलो पटक हवाई आक्रमण सुरु गरेको छ ।
इराकको अन्बर प्रान्तमा इस्लामिक स्टेट्का जिहादी समूहले सुन्नी अल्बु निम्र आदिवासी समुदायका दुई सयभन्दा बढी सदस्यको हत्या गरेपछि क्यानाडाले सो हवाई आक्रमण सुरु गरेको बताइएको छ ।
अन्बर प्रान्तीय परिषद्का उपप्रमुख फलेह अल–एसावीले यस आक्रमणबाट २५८ व्यक्तिको ज्यान गएको जानकारी दिनु भएको थियो । यद्यपि सो आक्रमणहरुमा तीनसय भन्दा बढी व्यक्तिको ज्यान गएको अनौचारिक समाचारले जानकारी दिएको छ ।
‘आज हवाई आक्रमणले हाम्रो सरकार आतङ्ककारी विरुद्ध उपस्थित रहेका छौँ ’ भन्ने सिद्ध गर्ने छ, ‘निर्दोष बालबालिकासहित महिला पुरुषमाथि आइएसले गरेको यस अत्याचार विरुद्ध हामी लड्ने छौँ’ भनी क्यानाडियाली रक्षामन्त्री रोब निचोल्सोनद्वारा एक विज्ञतिमार्फत बताए ।
क्यानाडाले आइएस लडाकूविरुद्ध लडाईमा गत बिहीबारबाट सहभागिता जनाएको थियो । सो क्रममा क्यानाडाले इराकमा आइएस लडाकूको बलियो प्रभाव रहेको फाल्लुजाह सहरमा आइएस विरुद्धको हवाई आक्रमणका लागि सिएफ– १८ एस दुईवटा विमान पठाउने भन्दा आगाडि दुई दिनसम्म प्राथमिक परीक्षण गरेको बताइएको छ ।
गत १० दिनयता इराकमा आइएस लडाकूले गरेको आमहत्यामा सयौँ सुन्नी अल्बु निम्र आदिवासीको मृत्यु भईसकेको छ । इराकको कारबाला सहरमा वार्षिक रुपमा हुने प्रमुख तीर्थयात्राको लागि लाखौ सिते मुसलमान समुदायले तयारी गरिरहेको यस अवस्थामा इराकमा आइएस अतङ्ककारी समूहले जारी राखेको हिंसा बढ्दै गएको बताइएको छ ।
आइएस आतङ्ककारी समूहले इराक र सिरियामा हिंसा मच्चाउनुको साथै सो देशहरूका कयौँ भागहरू नियन्त्रणमा समेत लिएका छन् । आईएसले सिरियामा पनि आफूविरुद्ध युद्ध गर्ने सिरियाली आदिवासी समुदायका सयौँ व्यक्तिलाई मार्ने गरेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ ।