फाँसीमा चढ्नु अघि युवतीको रुवाउने अन्तिम सन्देश
43 7G+29
एजेन्सी ।
इरानमा एक २६ वर्षीय युवती रेहना जब्बारीलाई मृत्यु दण्ड दिइएको छ । अधिकारवादीहरुले सँधै जस्तै उनलाई दिइएको मृत्यु दण्डको विरोध गरेका छन् ।
आफूलाई वलात्कार गर्ने एक सरकारी अधिकारीको हत्या गरेको अभियोगमा मृत्यु दण्डको सजाय पाएकी उनको चर्चा संसारभर यसै पनि थियो तर उनको चर्चा मृत्यु हुने समयमा झनै बढी भएको छ । ७ वर्षदेखि जेलमा रहेकी रेहानालाई अक्टुबर २५ अर्थात ३ दिन अघि फाँसी दिइयो ।
रेहना जब्बारी
अन्तराष्ट्रिय मानवअधिकारवादी संगठन एम्नेस्टी इन्टरनेशनलले जब्बारीलाई फाँसीको फैसला सुनाउने अदालतको आदेशलाई गलत भनेको छ । घटनाको समयमा घटनास्थलमा अर्कै व्यक्तिको पनि उपस्थिति भएको र हत्या अर्कैले गरेको एम्नेष्टीको दावी छ ।
जब्बारीको मृत्यु दण्डको चर्चा मानवअधिकारको विषयले भन्दा पनि उनले लेखेको अन्तिम पत्रका कारण विश्वभरी चर्चा भएको छ । जब्बारीले अन्तिम सन्देशको रुपमा लेखेको पत्र पढ्दा आँखाबाट आँशु आफै छचल्किने छ ।
बलात्कार गर्ने पुरुषलाई प्रतिकारका क्रममा मारेको अभियोग लागेकी जब्बारीले मृत्यु दण्ड पाउनु अघि अन्तिम सन्देशकोरुपमा एक पत्र लेखेकी छिन् जसमा उनले आफ्ना सबै अंग दान गर्ने इच्छा ब्यक्त गरेकी छिन् । उनले भनेकी छिन म कुहिन चाहन्न । म जस्ता जवान कुहिनु हुन्न ।
जब्बारीले आमालाई सम्बोधन गर्दै लेखेको पत्र साँच्चिकै रुहाउने छ । उनले भनेकी छिन् उनलाई एक पटक आमा र बुबाको हात चुम्न मन छ । मर्नु अघि सम्म तपाइँलाई अंकमाल गरिरहन मन छ ।
संसारले आफूलाई केवल १९ वर्ष मात्र बाँच्ने मौका दिएको भन्दै उनले बलात्कार मात्र हुनुको साटो आफ्नो त्यही दिन हत्या नै भैदिएको भए हुन्थ्यो भन्ने कामना गरेकी छिन् ।
अहिलेको अवस्था भन्दा आमाले आफ्नो हत्यामात्र होइन बलात्कार पनि भएको थियो भन्ने थाहा पाउनु जाति हुने उनले पत्रमा लेखेकी छिन् ।
रेहनाकी आमा उनलाई काखमा राख्दै
उनले लेखेकी छिन्- मेरो हत्यारा कहिल्यै पक्राउ पर्ने थिएन । किनभने हामीसँग न त उसको जस्तो धन छ, न रवाफ र शक्ति नै । तर, कुन श्राप ले गर्दा हो त्यसो हुन सकेन ।’
जब्बारीले मृत्यु जीवनको अन्त्य नभएको भन्दै आफू बलात्कृत हुँदा आमाले सिकाएको ज्ञानले काम नै नगरेको समेत उल्लेख गरेकी छिन् ।
रेहनाकी आमा छोरीको सम्झनामा श्रद्धाञ्जली दिँदै
उनी पत्रमा लेख्छिन्- आमा, तपाइँलाई थाहा छ, मैले एउटा लामखुट्टे पनि मारेकी छैन । साङ्लो त जुँगा पकडेर बाहिर फालिदिन्थे । तर, अहिले मलाई जानीबुझी हत्यारा बनाइएको छ । जनावरप्रतिको मेरो प्रेमलाई अदालतमा क्रुर पुरुष जस्तो भनेर भनियो तर, न्यायाधीशले घटनाका बेला मेरा नङहरु लामा र सिंगारिएका थिए भन्ने जान्न चाहेनन् ।
आँशु झार्ने शब्दमा उनले आमालाई लेखेकी छिन्- ‘मेरी प्यारी आमा, मेरो विचारधारा परिवर्तन भएको छ । तर, तपाइँ यसका लागि जिम्मेदार हुनुहुन्न । मेरा शब्दहरुको अन्त्य छैन र मैले यो सबै कसैलाई लेखेर दिएकी छु, यदि तपाइको जानकारी विना नै मलाई फाँसी दिइयो भने यो पत्र तपाइँलाई दिइयोस ।
मैले आफ्नो चिनोको रुपमा केही हस्तलिखित दस्तावेज तपाइँका लागि छोडेकी छु ।’
उनले लेखेकी छिन्- आमा ! म माटो भित्रै कुहिन चाहन्न । म आफ्ना आँखा र जवान मुटु माटो बनुन भन्ने चाहन्न । त्यसैले प्रार्थना गर्छु, मृत्युदण्ड पछि चाँडो भन्दा चाँडो मेरो मुटु, मेरा मृगौला, मेरा आँखा, हड्डीहरु र त्यो सबै जसको प्रत्यारोपण गर्न सकिन्छ, मेरो शरीरबाट निकालेर आवश्यक व्यक्तिलाई उपहारका रुपमा दिइयोस । मेरा अंगहरु जुन व्यक्तिका लागि दिइन्छ उसलाई मेरो नाम नभन्नु होला । म चाहन्न उसले मेरा लागि प्रार्थना गरोस् ।
रेहना बाल्यकालमा
मैले मेरो हृदयदेखि नै तपाइलाई भनिरहेकी छु, तपाइ मेरो चिहानमा आएर दुख व्यक्त गर्नुस र पीडित बन्नुहोस भन्ने म चाहन्न । म तपाइँले कालो लुगा लगाएर मेरो चिहानमा प्रार्थना गर्न आउनुहोस भन्ने चाहन्न ।’
जब्बारीले पत्रको अन्त्यमा भगवानको अदालतमा अर्कै न्यायाधीश हुने र त्यहाँ पुगेर आफूलाई दुःख दिएका सर्वोच्च अदालतका न्यायाधीशहरुविरुद्ध मुद्दा हाल्ने भनेकी छिन् ।
उनले अन्त्यमा आमालाई I LOVE YOU अर्थात आमा म तपाइँलाई प्रेम गर्छु समेत लेखेकी छिन् ।
– See more at: http://nepaliheadlines.com/2014-10-28-10-36-33.html#sthash.KKih0Q9l.dpuf