भाडादर पुनर्मूल्यांकन नभएको लामो समय भएको र यस अवधिमा लागत बढ्दै गएकाले भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहाल बताए ।
‘सार्वजनिक सवारीसाधनको भाडादर पुनर्मूल्यांकन नभएको लामो समय भएको र यस अवधिमा लागत बढ्दै गएको आधारमा आगामी १५ कात्तिकबाट लागू हुने गरी भाडा वृद्धि गर्ने निर्णय भएको छ,’ सोमबार संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिमा दाहालले भने । उनका अनुसार यात्रुबाहक सवारीसाधन (बस, मिनीबस, माइक्रो) मा ५ दशमलब ६३ प्रतिशतका दरले भाडा वृद्धि हुनेछ ।
नयाँ भाडादरअनुसार चार किलोमिटर वा सोभन्दा कम दूरी यात्रा गर्ने यात्रुले १६ रुपैयाँ तिर्नुपर्नेछ । हाल यो दूरीका लागि १५ रुपैयाँ भाडा तिरे पुग्छ । त्यस्तै, पाँच किलोमिटरसम्म यात्रा गर्दा १७ रुपैयाँ, ६ किलोमिटरसम्म यात्रा गर्दा १९ रुपैयाँ, आठ किलोमिटरसम्म यात्रा गर्दा २० रुपैयाँ तिर्नुपर्नेछ ।