कात्तिक १२, काठमाडौं-फिलिपिन्ससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय टोली मंगलबार कतारको राजधानी दोहा प्रस्थान गरेको छ। नेपालले शुक्रबार फिलिपिन्सको राष्ट्रिय टोलीसँग अलअरबी स्टेडियममा मैत्रीपूर्ण खेल खेल्नेछ। अन्न्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
नेपालले दोहामा फिलिपिन्ससँग मैत्री फुटबल खेल्न लागेको यो दोस्रोपटक हो। यसअघि गत चैतमा नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेलमा नेपाल ३-० गोलले पराजित भएको थियो।
नेपालले हालसम्म फिलिपिन्ससँग तीनवटा अन्तर्राष्ट्रिय खेल खेलेको छ। सन् १९८२ मा सम्पन्न किङ्स कपमा नेपालले फिलिपिन्सलाई १(० गोलले हराएको थियो। त्यसपछि सन् २०११ मा भएको अर्को खेलमा नेपाल फिलिपिन्ससँग ४-० गोलले पराजित भएको थियो। फिफा वरीयतामा नेपाल एक सय ७९ औं स्थानमा छ। फिलिपिन्स भने एक सय २९ औं स्थानमा छ।
नेपालले यसपटक फिलिपिन्सलाई हराउने लक्ष्य लिएको नेपाली टोलीका प्रशिक्षक ज्याक स्टेफेनोस्कीले बताए। हामीले एसियाड अघिदेखि नै राम्रो तयारी गरिरहेका छौं। नेपाली खेलाडी शारीरिक र मानसिक दुवै तवरले फिट छन्। आशा छ, यसपटक फिलिपिन्सलाई हराएर फर्कनेछौ, ज्याकले भने।
फिलिपिन्ससँगको अघिल्लो मैत्री खेलमा नेपाली टोलीको प्रशिक्षक राजुकाजी शाक्यले सम्हालेका थिए। त्यसबेला र अहिले नेपाली टोलीमा निकै परिवर्तन भएको छ। नेपाली टोलीमा अहिले युवा खेलाडीको वर्चस्व रहेको छ। टोलीका अधिकांश खेलाडी १७ औं एसियाडमा सहभागी यु २३ टोलीका सदस्य हुन्।