काठमाडौ- लक्ष्मीपूजाको अवसरमा बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुन पत्नी सामन्थासँग उत्तरपश्चिम लन्डनको स्वामीनारायण मन्दिरमा पुगेर पूजा गर्छन् । उनले सरकारी निवासमा कार्यक्रमको आयोजना गरेर शुभकामना आदानप्रदान गर्छन् । बेलायतवासी हिन्दु समुदायले आयोजना गर्ने दिपावली समारोहमा समेत सहभागी हुन्छन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा पनि पत्नी मिसेलसँग यसैगरी तिहार मनाउँछन् । उज्यालो, उमंग र खुसीको यस पर्वमा अन्य मुलुकका राष्ट्राध्यक्षले पनि आआफ्नो मुलुकमा बस्ने हिन्दु समुदायलाई बधाई दिन्छन् ।
धर्म र संस्कृतिको धनी हिन्दु डायस्पोराका विश्वभर विस्तारसँगै तिहारले अन्तर्राष्ट्रिय रूप लिएको छ । अद्भुत आकर्षण र मौलिकताका कारणले उज्यालोको पर्वले यो उचाइ लिएको हो । छिमेकी मुलुक भारतको लागि यो धेरै नै ठूलो उत्सव हो । पटाका, मिठाई र मधुर संगीत भनेको त्यहाँको दीपावली -दिवाली) को पहिचान हो । रमाइलोसँगै मानवीय पक्ष पनि यो पर्वसँग जोडिन पुग्छ ।
भारतको प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दिनभर जम्मु कश्मीरका बाढीपीडितसँग दिवाली मनाउँदै छन् । सन् २००१ मा गुजरातमा महाभूकम्पबाट सबथोक गुमाएकाहरूसँग उनले यो पर्व मनाएका थिए । उनी त्यतिबेला मुख्यमन्त्री थिए । दीपावलीको मौकामा भारतका सामाजिक संघसंस्थाहरूले अनाथ बालबालिका र परिवारबाट परित्यक्त विधवा महिलाको हातबाट दियो बाल्न लाउँछन् । उत्तर प्रदेशको यमुना नदीको किनारमा घरबारविहीन विधवाहरूले एकसाथ हात उठाएर दियो बालेको र पटाका पडाएको दृश्यले मन रुवाउँछ ।
थुप्रै मुलुकमा कुलदेवताको आराधनका साथ नयाँ वर्षको रूपमा दीपावली वा दिवाली मनाउने परम्परा छ । हल्का जाडो र गर्मीको यो मौसममा सबैतिर यसको भव्य आगमन हुन्छ । चीनमा डरलाग्दो वन्यजन्तु र दुष्ट आत्मालाई तर्साउने आशयका साथ पटाका पडाइन्छ । चीनको पटाकाले भारत र नेपालको बजार कब्जा जमाउन थालेको छ । स्वास्थ्यकोलागि हानिकारक चिनियाँ पटाका बेचबिखनमा भारतले प्रतिबन्ध लगाइसकेको छ । यो पर्वमा श्रीलंका, म्यान्मार, भुटान, मरिसस, गुयाना, त्रिणिडाड एन्ड टोबेगो, सुरिनाम, मलेसिया, सिंगापुर, फिजी लगायतमा राष्ट्रिय बिदा दिइन्छ ।
हिन्दु र शिखको बसोबास भएको गुयाना, फिजी, मलेसिया, मरिसस, म्यान्मार, सिंगापुर, श्रीलंका, टि्रनिडाड एन्ड टोबागो, बेलायत, जापान,
थाइल्यान्ड, इन्डोनेसिया, अस्टे्रलिया, न्युजिल्यान्ड, केन्या, तान्जानिया, दक्षिण अपि|mका, अमेरिका, बेलायत, क्यानाडा र नेदरल्यान्डस्मा एकअर्कालाई भेटेर र एसएमएस पठाएर शुभकामना दिँदै दीपावली मनाइन्छ ।
बेलायतमा भारतीय दोस्रो ठूलो अल्पसंख्यक आदिवासी समुदाय हो । विश्ोषगरी चाडपर्वमा मातृभूमिको सम्झनालाई बिर्साउन उनीहरू सबै पर्वहरू मनाउँछन् । उनीहरूले दिवालीकै लागि लक्ष्मी मन्दिर निर्माण गरेका छन् । उनीहरू यतिखेर भारतीय शैलीमा मन्दिर र घर सिंगारेर दीपावली मनाउँछन् । मगमग बासना आउने धुप, झिलिमिली घर र शंखनादको गुन्जन सुनिन्छ । बेलायतको कठयांगि्रँदो जाडोले पनि उनीहरूको उत्साहमा कमी आउन्न । हिन्दुहरूको घरको झ्यालमा दियो नबलेको कमै हुन्छ ।
दक्षिण अमेरिकाको उत्तरपूर्वी तटस्थित गुयानामा पनि यस्तै माहोल हुन्छ । ८२ हजार ९ सय ७८ वर्ग मिल क्षेत्रफल भएको यस मुलुकको करिब ७ लाख ७० हजार जनसंख्यामा ३३ प्रतिशत हिन्दु छन् । हिन्दु सौर्य क्यालेन्डर अनुरूप उक्त मुलुकले राष्ट्रिय बिदा दिएर दीपावलीको स्वागत गर्छ । त्यहाँ सन् १८५३ देखि स्वतःस्फूर्त रूपमा यो परम्परा सुरु भएको हो । यस अवसरमा नयाँ पहिरनमा पेडा, बर्फी र खीर जस्ता मिठाईका परिकार वितरणलाई सेवा र साझेदारीको भावनाको रूपमा लिइन्छ भने शुभकामना कार्डको आदानप्रदानलाई सद्भावको प्रतीक मानिन्छ । यतिखेर नयाँ लुगा लगाउनुलाई स्वस्थ शरीरमा स्वस्थ आत्माको बासको संकेत मानिन्छ । माता लक्ष्मीले घरमा प्रवेश गर्ने विश्वासका साथ सर्वत्र चिटिक्क पारिन्छ ।
यस मामिलामा इन्डोनेसिया पनि पछि छैन । इन्डोनेसिया गि्रक शब्द इन्डो -भारतीय) र नेसोस -द्वीप) बाट बनेको छ । त्यहाँको बहुसंख्यक जनताले इस्लाम धर्म मान्छन् । हिन्दु मात्र २ प्रतिशत छन् । यति हुँदाहुँदै पनि बहुसंख्यक भारतीय बस्ने त्यहाँको बाली द्वीपमा यस पर्वको धुम हुन्छ । यो स्थानीयवासीको सबभन्दा बढी श्रद्धेय पर्वहरूमध्ये एक हो । अर्कोतिर कुल जनसंख्याको ८ प्रतिशत हिन्दु भएको मलेसियामा खराबविरुद्ध असलको विजयको रूपमा तिहार -हरि दिवाली) मनाइन्छ । असुर शक्तिको प्रतीक रावणविरुद्ध रामको विजयीको रुपमा सारावाक र संघीय लाबुनान क्षेत्रबाहेक मलेसिया भर यो चाँड मनाइन्छ ।
जैन धर्मावलम्बीले मोक्ष प्राप्त हुने आशयका साथ र पञ्जाबी वा शिख समुदायले छैठो गुरु हरगोविन्दजीको सम्झनामा दीपावली मनाउँछन् । इशाई र बौध धर्मावलम्बीले समेत प्रकाश -ज्ञान) को सम्मान गर्दै मैनबत्ती वा दियो बाल्छन् । उनीहरू पनि नयाँ लुगा लगाएर वरिपरिका छरछिमेकीलाई खाना खान बोलाउँछन् ।
व्यवसायीहरूले यति बेला नयाँ काम सुरु गर्छन् । तिहारको अन्तिम दिन मनाइने भाइटीकालाई भारतमा भैयाँ दुज, भाइ दुज, भाथुर द्वितीय र भातृ द्वितीया भनेर पनि मनाइन्छ । पश्चिम बंगालमा यसलाई भाइफोटा, महाराष्ट्रय र केही क्षेत्रमा ‘भाइ बीज, भाउ बीज र भाव बीज’ पनि भनिन्छ । त्यहाँ पनि आआफ्नो लोक भेषभूषामा सजिएर घरदैलोमा पुगी नाँच्दै गाउँदै आशिष मागिन्छ ।
विश्वलाई वशिभूत पार्ने सुन्दर हिन्दु संस्कृतिहरूको उत्सव यही सकिन्न । भाइटीकाको समापनपछि सारा पृथ्वीलाई प्रकाश दिने सूर्यको आराधना गर्दै प्राचीन छठ महोत्सव सुरु हुन्छ । यसमा सूर्य र छठ मैयाँको रूपमा सूर्यको देवी रूप उषाको पूजा हुन्छ । प्रायजसो धर्म, संस्कृति र सभ्यतामा प्रकृति तथा सूर्यको पूजा गरिने हुनाले सबै जाति र समुदाय यो पर्वमा सहभागी जनाउँछन् ।
विशेषगरी विहार, भारखण्ड र पूर्वी उत्तरप्रदेशमा भव्य ढंगले मनाइने यस पर्वको विस्तार भारतको मुख्य सहरहरू दिल्ली र मुम्बईमा पनि विस्तार भएको छ । तर, दसैंजस्तै नेपालको छठले सबैलाई उछिनेको छ । कुनै व्यक्ति विशेष, सेलिब्रेटी, नेता, मन्त्री, आयोजक र स्वयंसेवकहरूले गर्दा यो यति धेरै लोकपि्रय भएको पक्कै होइन । सबै धर्म, समुदाय र जातिले बिनाभेदभाव पूजा गर्न तथा सहभागी हुन पाउने हुनाले छठ पर्वको महत्त्व र महिमाको स्वतः प्रचारप्रसार भएको हो ।
केही युरोपेली र इस्लामिक मुलुकमा विभिन्न कालमा निर्माण भएको सूर्य मन्दिर पनि छन् । जापान, कम्बोडिया, फिजी लगायतका मुलुकमा आआफ्नै ढंगले सूर्यको आराधना गरेर यो पर्व मनाइन्छ । यो प्राचीन पर्वमा पृथ्वीमा जीवनलाई बचाइराख्न र परिवार एवं मानव कल्याणका लागि सूर्यको पूजा गरिन्छ । यतिबेला पोखरी र जलाशय किनारमा दीपावलीझैं माहोल हुन्छ ।
चार दिनसम्म चल्ने पूजाकोे अन्तिम दुई दिन साँझ र बिहान जलाशय किनारमा छठको रौनक बढी हुन्छ । व्रतालुले शरीरलाई चोखो राख्न पहिलो दिन नुहाएर शुद्ध शाकाहारी भोजन खाएर उपवास बस्छन् । यसलाई ‘नहाय खाए’ भनिन्छ । दिनभरि उपवास बसी दोस्रो दिन साँझ चोख्याएर बनाइएको खीर, पुरी लगायतका मिठा पक्वानले गोप्य कोठामा ईश्वरको आराधना गर्छन् । सबभन्दा पहिले व्रतालुले प्रसाद खान्छन् । त्यसपछि परिवारजन र छिमेकीलाई पनि मिठो प्रसाद बाँडिन्छ । यो दिनलाई ‘खरना’ भनिन्छ ।
तेस्रो दिन साँझपख र चौथो दिन बाँसका भाँडाकुँडामा सजाएर राखिएका पुजन सामग्रीसहित सूर्यको पूजा गरेपछि साँझको पूजालाई सन्ध्या अघ्र्य -सँझिया अरघ) र बिहानकोलाई उषा अघ्र्य भनिन्छ । सरलता र सादगीले गर्दा बर्सेनि यो पर्वमा सहभागिता बढ्दो छ । साभार कान्तिपुर दैनिक