राज्यले किन यस्तो विषयमा प्रवेश गर्नु आवश्यक ठान्यो ? तत्कालीन प्रधान मन्त्री डा. बाबुराम भट्टराई सरकारको पालामा इन्द्रजात्रामा राज्यले परम्परादेखि दिँदै आएको राँगा नदिने भएपछि आन्दोलनकै स्थिति देखिएको थियो । पछि सरकार आफ्नो निर्णयबाट पछि हट्यो । परम्पराले निरन्तरता पायो । एउटा दुर्घटना ट¥यो । धार्मिक तथा सांस्कृतिक चाडपर्वलाई उमंग र उत्साह भन्दा दायित्वका रूपमा राज्यले हेर्न थालेको छ । कतिपय मुलुक यस्ता चाडपर्व नभएर अन्यत्रबाट ल्याएर पनि मनाउँछन् । धन्य हाम्रो धनी सांस्कृतिक परम्परा, हामीले तिनलाई अन्यत्रबाट खोजेर ल्याउनुपर्दैन । तिनलाई व्यवस्थितमात्र गरे पुग्छ । हाम्रो वर्षभरिको क्यालेन्डर चाडपर्व र सांस्कृतिक उत्सवले भरिएको छ ।
जापानको टोकियोमा प्रत्येक वर्ष २३–२४ अगस्टमा कोयन्जी आवादोरी महोत्सव मनाइन्छ । टोकियोबासीहरूले यसलाई टोकुसिमा प्रिफेक्चरबाट ल्याएर मनाउन थालेका हुन् । अहिले यो पर्यटकका निम्ति पनि प्रमुख आकर्षण भएको छ । प्रत्येक टोलटोलबाट निस्किएर राति निकालिने यो नृत्य पर्व हेर्न हजारौं हजार सडकमा निस्किएका हुन्छन् । हामीले हाम्रा यस्ता चाडपर्व, संस्कृति र झाँकीलाई मात्र व्यवस्थित गर्ने हो भने धेरै फाइदा लिन सकिन्छ । तर हामीलाई यी धेरै भइसकेको महसुस राज्यले गरेजस्तो छ । सामाजिक सद्भाव बढाउन र गतिशीलताका निम्ति पनि यस्ता गतिविधि आत्मसात गरिन्छ । चाडपर्व र सांस्कृतिक गतिविधिहरू अर्थतन्त्रलाई जीवन्त तुल्याइराख्ने औजार हुन् । यिनीहरूकै कारण बजारका गतिविधि हुन्छन् । धेरै व्यक्ति फुर्सदमा हुने र आवतजावत तथा भेला हुने हुनाले त्यहाँ अरू बेलाभन्दा बढी सुरक्षा व्यवस्था मिलाउनुपर्ने आवश्यकता हुन्छ ।
हाम्रा सुरक्षा निकायहरूलाई चाडपर्वका बेला अतिरिक्त डिउटी गर्नुभन्दा प्रतिबन्ध लगाइदिए सजिलो हुने महसुस भएको देखियो । सर्वसाधारणले तिरेको सर्वसञ्चित कोषबाटै चल्ने यस्ता निकाय राज्यका निम्ति किन आवश्यक हुन्छन् भने यिनले डिउटी गर्छन् र सर्वसाधारण ढुक्कले आफ्नो घरमा निदाउँछन् । आवश्यकताअनुसार चाडपर्व मनाउन उनीहरू स्वतन्त्र हुन्छन् । सरकारले सजिलो बाटो निकालेपछि अब ९ बजे चाडबाडका बेला पनि सुत्नै पर्ने भयो । वर्ष दिनमा आउने यस्ता चाडपर्वमा सर्वसाधारण बढी संलग्न हुन चाहन्छन् । त्यस्तो बेलामा सुरक्षाको समस्या हुन्छ भनेर प्रतिबन्ध लगाउनु त्यसको विकल्प होइन । बरू बढीभन्दा बढी सुरक्षाको प्रत्याभूति दिएर यस्ता पर्वका निम्ति सर्वसाधारणलाई प्रोत्साहित गर्नुपर्छ । हाम्रा पितापुर्खाले वर्षभरि काम गरेपछि सामाजिक संलग्नता र थकाइ मार्नका निम्ति यस्ता चाडपर्वको सिर्जना गरेका हुन् । तिनलाई अहिले भारीजस्तो ठानेर बेवास्ता गर्न सकिन्न ।
हाम्रा चाडपर्व र सांस्कृतिक चर्याहरूमा त्यसै पनि अहिले चौतर्फी आक्रमण हुन थालेको छ । तिनीहरू लुप्त भएर जालान् कि भन्ने खतरा छ । त्यसकारण पनि हाम्रा परम्परागत चाडपर्वलाई अझ विधिविधान र उमङ्गसहित मनाउनुपर्ने आवश्यकता छ । हाम्रा चाडपर्व भनेका अदृश्य सम्पदा हुन् । तिनलाई राम्ररी मनाउन र संरक्षण गर्न सकियो भने त्यसैले पर्यटकहरू भित्र्याउन सजिलो पर्छ । यसरी खुम्च्याउँदै जाने हो भने यो पर्यटकीय मौसममा विदेशी पनि आउन छाड्छन् । हाम्रा राज्य सञ्चालकहरूको लाचारी हो कि तिनले बत्ती निभाएर तिहारमा बस भन्न थालेका छन् ।
हालै अन्नपूर्ण क्षेत्रमा भएको दुर्घटनाले पनि त्यस्तै नकारात्मक प्रभाव पारेको छ । पर्यटन क्षेत्रमा राम्रो सूचना व्यवस्था, मौसमी प्रतिकूलतामा उद्धार आदिलाई व्यवस्थित नगर्दा विस्तारै बद्नामी कमाउँदैछ मुलुकले । यी विभिन्न नकारात्मक गतिविधि र प्रचारले यसै पनि हाम्रो मुलुकका यी सम्पदालाई ओझेलमा पार्नेछ । हाम्रो सट्टामा ती पर्यटक अन्यत्रै जान थाल्नेछन् । राज्यले आफ्नो ऊर्जा सुरक्षा नीति राम्रो बनाउनुपर्ने हो । अझ मुलुकमा प्रजातन्त्र पुनस्र्थापना भएकै २५ वर्ष पुग्न थाल्यो । पञ्चायतले पनि आफ्नो रजत जयन्ती मनाएका बेला गरेका अनेकन उपलब्धिको फेहरिस्त सार्वजनिक गरेको थियो । हाम्रो प्रजातन्त्रका उपलब्धिचाहिँ तिहारको देउसी–भैलो घटाएर राति नौबजेसम्म पारेको, तिहारमा रंगीचङ्गी बत्ती नबालेर बिजुली जोगाएको जस्ता हुने भए ।
गरे नहुने होइन । हाम्रो मुलुकमा ऊर्जा संकट आउँदैछ भन्ने बेलैमा थाहा हुनुपर्ने थियो । हामीले सामाजिक–राजनीतिक परिवर्तनका निम्ति जति नारा लगाउने गरेका छौं मुलुकलाई व्यवस्थित गर्न पनि त्यत्तिकै ध्यान दिएको भए आज यो दुर्गति हुने थिएन । हेर्दा सामान्यजस्तो लाग्छ । तर, चाडपर्वमा समेत धेरै बिजुली नबाल्नू भनेर आदेश दिने अवस्था आउनुले त भविष्यमा बिजुली धेरै बालेको भनेर सार्वजनिक अपराधको मुद्दा लगाउनुपर्ने अवस्था पनि आउन सक्ने भयो ।
यो लाचारी र लज्जाहीनताको अवस्था हो । राज्य भनेको नागरिक आडभरोसको संस्था हो । त्यसले परिआउँदा नागरिकलाई संरक्षण र सुरक्षा दिने हुनाले नागरिकले आफूलाई त्यसका नियम÷कानुनभित्र राखेर अगाडि बढाउँछ । तर हाम्रो राज्य संरचनाले आफ्नो सुरक्षा व्यवस्थालाई भरपर्दो नबनाएका कारण आज देउसी–भैलोका निम्ति सुरक्षा दिन नसक्ने अवस्थामा पुग्यो । कुनै दिन यस्तो निर्देशन पनि आउन सक्छ– आफ्नो ज्यानको सुरक्षा आफैँ गर्नू।
Email [email protected]