असोज ३०,सुर्खेत–डेढ वर्षअघि गुमी, भर्लेनीकी प्रेमा घर्तीले एउटा सपना देखिन्– घरमै कुखुरा फारम खोलेर मनग्गे आम्दानी गर्ने। उनको सपना साकार पार्न गाउँकै अमरज्योति बहुउद्देश्यीय सहकारी संस्था ‘निर्ब्याजी’ ऋण दिन तयार भयो। प्रेमाले छिमेकका अन्य चार महिला मानमाया, दिलसरी, डोठीदेवी र रैमतीलाई पनि आफ्नो योजनामा सामेल गरिन्। सामूहिक रूपमा कुखुरा पालन योजनासहित उनीहरूको एउटा समूह बन्यो। अमरज्योतिले प्रतिव्यक्ति ३५ हजार रुपैयाँका दरले ब्याज नपर्ने सरकारी ऋण दिने निश्चित भयो। प्रेमाको समूहले उत्साहसाथ देखेको त्यो सपना धेरै दिन टिक्न सकेन। तमसुकमा ल्याप्चे लगाएकै दिन सहकारीका कर्मचारीले भनु,‘नगद होइन, कुखुरा किनेर बाँडिदिन्छौं।’
केही दिनमै सहकारीले त्यो समूहलाई ५ सय चल्ला ल्याइदियो। घरमै आएका कर्मचारीले भने,‘‘एउटाको मोल ४५ रुपैयाँ।’ उनीहरूले प्रत्येक लट(दुई महिना) मा चल्ला र त्यसको चारो दिएर तमसुकमा उल्लिखित रकम चुक्ता गर्ने वचन दिए। त्यो वचन पनि चार महिना टिक्न सकेन। दोस्रो लट सकिनेबित्तिकै सहकारीले वास्ता गर्न छाड्यो। न चारो दियो, न त चल्ला। ‘दुई–तीन महिनासम्म चल्लालाई आफैं चारो किनेर खुवायौं,’ रित्तो फारम देखाउँदै उनले भनिन्,‘हुर्केका चल्ला सकिएपछि थप्न सकिएन, व्यापारै बन्द भयो।’
यतिसम्मले त खोर बनाउँदादेखि चल्ला पाल्दासम्म भोगेको पीडा सजिलै बिर्सन सकिन्थ्यो। सहकारीले तमसुकअनुसारको ऋण तिर्न ताकेता गर्न थालेपछि प्रेमाको मन भारी भएको छ। ‘नखाएको बिख लाग्यो,’ गहभरि आँसु पार्दै उनले भनिन्, ‘हामीले लिँदै नलिएको ऋण तिर्नुपर्दा असैह्य पीडा भएको छ । आजको नागरिक दैनिकमा खबर छ ।