जनकवि केशरी धर्मराज थापाको निधन

असोज २८, काठमाडौँ-जनकवि केशरी धर्मराज थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । वि.सं. १९८१ साउन १ गते पिता हर्कबहादुर र माता मनमायाका सुपुत्रका रुपमा कास्की जिल्लाको बाटुलेचौरमा जन्मिनुभएका थापाको पार्थिव शरीर श्रदान्जलीका लागि नेपाल प्रज्ञाप्रष्ठिन कमलादिमा राखिएको छ । उहाँको आजै  दिउसो २ बजे पशुपति आर्याघाटमा अन्त्यष्टि गरिने बताइएको छ । थापा लामो समयदेखि उच्च रक्तचाप र प्यारालाइसिको विरामी हुनुहुन्थ्यो ।

थापाले लोकसाहित्य र गितमा महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएको छ । प्रजातन्त्रको काफल, पाक्यो बरी लै, हरियोडाँडा माथि हलो जोत्ने साथी, हाम्रो तेन्जिङ शेर्पाले, चढ्यो हिमाल चुचुरा, आज मादल बजेको किन, गाउँबेसी दुनियाँ बिउँझाउन, धुरुधुरु नरोऊ आमा, तिम्रो आँसु पुछेर छाडौंला, घर सम्झी रोएको होला, डाँडाकाटी गएको नेपाली, जस्ता गीत गाउँदै कुनाकन्दरामा पुगेर नेपालीलाई बिउँझाउनु भएको थियो । थापाका १ सय भन्दा बढि गीत रेकर्ड भएका छन् भने थापाका गीत, कविता, लेख, साहित्य, संस्कृति, यात्रा संस्मरण लगायत २९ वटा कृति प्रकाशित छन् ।