दसैं : एक शब्दचित्र – मनु मञ्जिल

दसैं लुसुक्क कर्फ्युको बेलाको जँड्याहाझैं आएको मलाई सम्झना छैन । यो चाड क्यालेन्डरमा शरद ऋतुभन्दा धेरै पहिले आइसक्छ, र स्कुले नानीहरूले क्यालेन्डरको त्यो पातोलाई चिन्हो लगाएर राखिसकेका हुन्छन् । दसैं आउनुभन्दा धेरै अघि गरिब-दु:खीको मनमा त्यसको ऋणकेा चिन्ता र साहुको नाम पसिसकेको हुन्छ । विवाहित चेलीहरू माइत जाने बाटो अब आउँदा दिन नभत्कोस् भनेर प्रार्थना गर्न थाल्छन्- आकाशतिर, ईश्वरतिर र्फकेर । नानीहरूले देख्ने गरेको दसैंको सपना सायद यो देशका सुन्दरतम सपनाहरूमध्येका हुन् । चरालेझैं गुँड छोडेर टाढा क्षितिजपारि उडेका छोराछोरी यो दसैंमा त घर र्फकलान् । यो पर्वमा बूढा-बुढीको मनले पनि रहर बाकेेको हुन्छ ।

०००००००००

जब शरद आकाशबाट भूइँमै ओर्लन्छ, यो देशमा एउटा रङ चढिसकेको हुन्छ । माथि हवाइजहाजहरू अलिक धेरैपटक उड्न थाल्छन् । गाउँघरतिर सधैं भन्दा अलिक धेरै मानिस हिँड्न थाल्छन् । कसरी पो हो, यो गरिब देशका साधारण हली, किसान, भरिया, कामदारको हातमा पनि कसोकसो अलि बढी नै पैसा देखिन्छ । हल्का चिसो शरदको याम र हल्का न्यानो नयाँ लुगाको संयोग समयलाई धेरै नै सुहाउँछ । दुबोमा टल्किएको शीत देख्दा अब यो मुलुकमा आँसु खस्नु खसिसक्यो, अब रुनु छैन भनेजस्तो भावना आउँछ । फूलहरूले अब फक्रने कुरा सोचिसक्छन् ।

जब दसैं साँच्चै आउँछ यो सातौं ऋतु आएजसरी आउँछ । मानौं यो पर्व आफैंमा एउटा नयाँ ऋतु, नयाँ याम हो र शरदचाहिँ उसको साथी मात्र । अब केही दिनका लागि देशमा धेरै परिवर्तन आउँछ । अखबार र म्यागेजिन पनि मोटामोटा दसैं-सोचले पुष्ट भएर आउँछन् । टीभीको पर्दाभरि दसैं दौडन सुरु गर्छ । स्कुलबाट फुर्सद पाएर सडकमा लम्किरहेका नानीहरूको शान नै बेग्लै । यो बखतको हँसाइ नै बेग्लै । किशोर-किशोरी यो बेला जत्तिको सुन्दर कहिल्यै हुँदैनन् । पहिले सहर, बजार र हाट हलचलमय र रङ्गीन देखिन्छन् । क्रमश: त्यो फिँजिन थाल्छ र सुदूरका गाउँहरू पनि रंगीन हुन थाल्छन् । अनि त यो देशका चार क्षितिज जुरुक्क उठेर…बस ! रमाइलो मात्र हेर्न थाल्छन् ।

बाढी र पहिरोका कथा, रगत र द्वन्द्वका कथा केही समयका लागि समयको दलानमा गएर बास बस्छन् । ऋणका कुरा पछि गरौंला । ऋणले खुसी ल्याउने बेला पनि आखिर यही मात्रै हो ।

०००००००००

दसैंसित ऋण सधैं जोडियो तर त्यसले दसैंलाई कम सुन्दर कहिल्यै बनाएन । भेटघाटमा, पर्खाइमा आँसु कति झरे, त्यसले यो पर्वको सौन्दर्य बगाएन । ती जो टाढाबाट घर र्फकन पाएनन् त्यसले दसैं, घर र परिवारको माया झन् बढायो । मरुभूमिमा बाँचेकाले त्यहीको बालुवामाथि नाचे । टेलिफोनबाट बा-आमाको आशीर्वाद लिए । समुद्रपार जानेहरूले देस छाडे तर दसैं उतै लिएर गए । जसले परिवारजन र आफन्त भेट्न पाएनन् तिनले कति विरहका गीत र कथा लेखे तर विरहका गीत-कथामा पनि दसैं सर्वदा सुन्दर रह्यो । धर्म जोडिए पनि नजोडिए पनि दसैं स्वयम्मा पूर्ण रह्यो । मानिसको खुसी जोडिएपछि नै हरचीज सुन्दर र पूर्ण हुने रहेछ ।

दसैं नै त्यस्तो एउटा पर्व हो जससित बदलिइरहने राजनीति हमेसा जोडियो । ५० को दशकको द्वन्द्वको बेला हाम्रो जीवन नै अन्त मोडियो तर त्यो बेला पनि यो पर्व नानीहरूको चङ्गा भएर, पिङ भएर, तिनका स-स्याना रहर पूरा गरेर बाँचिरह्यो । त्यो बेला पहाडमा बस्ती-बस्ती खाली भए । गाउँहरू शून्य भए । तर त्यहाँ शरदका फूल फुल्न कहिल्यै छाडेन । सहरका कफ्र्युमा दसैँ बाहिर निस्किएन तर घरभित्रको अँध्यारोमा पनि उसले चुपचाप थोरैतिनु खुसी मानिसमाझ बाँडिरह्यो । हराएका, बेपत्ता पारिएका मानिसले दसैँ कहाँ कसरी मनाए होलान् त्यो थाहा भएन । तर गाउँमा एक दुई पिङ हल्लिरहे, एक-दुई थान चङ्गा उडिरहे । लुकीलुकी जङ्गलभित्र पनि योद्धाहरूले दसैँ मनाए भन्ने रिपोर्ट अखबारमा पढिन्थ्यो । बेदनामा, वियोगमा, हुनेले आँसुका फूल चढाए । तर दसैँ बाँचिरहयो ।

०००००००००

मलाई औपचारिकता सधैँ बोधा मानिसहरूको नाटकझैँ लाग्छ । तर दसैँ नै यस्तो पर्व हो जससित जोडिने औपचारिकताहरू पनि सुन्दर लाग्छन् । राष्ट्राध्यक्षको औपचारिक भाषण, दूर्गापूजाको तामझाम बेकारका लाग्दैनन् । किनभने ती औपचारिकताहरू पनि मानिसका खुसीसित जोडिएका छन् । वा रमाइलो बेला भएर हो कि, औपचारिक मन्त्रहरू पनि सुन्दर सुनिन्छन् । सैनिकले टुँडिखेलका सालिकहरू तर्सने गरी तोप पड्काउँछ । राष्ट्रले जागिरेहरूलाई हाम्रो ढुकुटीको पैसा बाँड्छ । तर हामी आफ्ना बेखुसीका अर्थहरू शब्दकोश पल्टाई-पल्टाई उति खोज्दैनौ । यस्तो यौटा अवस्था पनि आउँछ ।

मूल कुरो दसैँ अवसर हो रहेछ । नानीहरूका लागि ‘होमवर्क’को कापी च्यातेर चङ्गा उडाउने अवसर । लिङ्गेपिङ, रोटेपिङमा चढेर अग्लो हुने, जीवनको टाढा-टाढाको पहाड, क्षितिज हेर्ने अवसर । किशोर-किशोरीका चञ्चल पाइलालाई बतास टेकेर घुमिहिँड्ने अवसर । बाउ-आमालाई

आफ्ना छोराछोरीलाई के-के किनिदिएर, के के ख्वाएर, घुमाएर, खुसी दिने अवसर । व्यपारीहरूलाई वर्षभरिको घाटा पूरा गर्ने अवसर । बूढा-बूढीलाई आशीर्वाद बाँड्ने अवसर । आफ्ना अनुहार मिल्ने छोराछोरी, नाति-नातिनाका केन्द्रमा रहने अवसर । चेलीहरूलाई माइत गएर आ-आफ्ना रमाइला वा दु:खेसोका पोका फुकाएर हाँस्ने वा रुने अवसर । टाढा पुगेका आफन्तहरूको भेटघाटको अवसर । शरद ऋतुलाई प्रकृतिको प्रतिनिधि भएर मानिससित मुस्काउने अवसर । विछोडिएका, एक्ला, मानिसलाई आफ्ना प्यारा आफन्तलाई झन् सघन हृदयले, सघन भावले सम्झने अवसर… मानिसको जीवनसित, रहरसित, खुसी र आँसुसित यति नजिक भएरै दसैंको महत्त्व छ ।

०००००००००

तर यौटा कुरा । दसैँलाई विदेशमा, मरुभूमिमा हराएका आफ्ना छोरा-छोरी कुरेर बस्ने दूर-दराजका बृद्ध बाउ-आमाको घर कसरी पो लिएर जानु होला ? साह्रै गरिब, दीनहीन नेपालीको मझेरीसम्म कसरी पुर्‍याउनु होला ? यसलाई लाखौँ टुहुरा नानीहरूको बगिरहने आँखाहरूमा कसरी अड्याउनु होला ? विधवाका ऐनाहरूमा दसैँ सजाउनु कसरी होला ? ती पनि विशाल आयामहरू हुन् हाम्रा यथार्थका ।

र म सोच्छु- त्यहाँसम्म पनि पुर्‍याउन सके हाम्रो दसैं अझ कति महान् र कति अपूर्व हुन्थ्यो होला ! साभार कोशेली