प्राध्यापक डिल्लीराम दाहाल नेपाल तथा दक्षिण एसियाली अनुसन्धान केन्द्र (सिनास) त्रिभुवन विश्वविद्यालय (त्रिवि), कीर्तिपुरबाट अवकाश प्राप्त मानवशास्त्री हुन् । अवकाशपछि पनि व्यस्त रहेका दाहाल अहिले सातामा एक पटक त्रिविमै एमफिल पढाउँछन् र विभिन्न अनुसन्धानात्मक काममा संलग्न छन् । दसैंको अवसर पारेर मानवशास्त्री दाहालसँग नेपाली समाज, संस्कृति, परम्परा, चार्डपर्वका विषयमा केन्दि्रत कुराकानीको सम्पादित अंशः
हाम्रो सामाजिक संरचना कसरी अघि बढेको छ ?
नेपाली संस्कृतिमा एक्लै बाँच्ने भन्ने सिकाइएको छैन । स्वास्नीले खाना पकाउनुपर्छ । परिवारमै बस्नुपर्छ भन्ने छ । एक्लै खाने, ड्राइभ गर्ने भन्ने पश्चिमी संस्कृतिमा सामान्य हो । पश्चिमी संस्कृति ‘इन्डिभ्युजालिज्म’ (व्यक्तिवाद) मा केन्द्रित हुन्छ । पश्चिमा पढाइले हिजो सानो परिवार बनाउनुपर्छ भन्यो । त्यसैलाई अनुसरण गरियो । मेरा दुई छोरी भए । दुवैलाई राम्रो शिक्षा दिएँ । अहिले उनीहरू अमेरिका छन् । सहरी समाज यसरी नै बढेको छ । हाम्रो गाँउघरमा चाहिं सामाजिक सुरक्षा हुन्छ तर सहरमा हुँदैन ।
यसले समाज र संस्कृतिलाई कसरी प्रभाव पार्छ ?
हाम्रो समाजमा नातागोताको कुरा छ । नातागोतालाई बलियो बनाउने चार्डपर्व रहेछ । नत्र सोह्र-श्राद्ध भनेको वर्षमा एकपटक बाउलाई सम्झने मात्र रहेछ, नत्र अन्य बेलामा सम्झने बाउलाई सम्झने फुर्सदै हुँदैन । दसैं आयो, टाढै होस्, ऋण काढेर होस्, जसरी होस्, आफ्नो मान्छेलाई भेट्नै भनेर गइरहेका हुन्छन् । हिजो हामी सबै गाउँमै हुथ्यौं, गाउँमै सबै कुरा मिल्थ्यो । अहिले एउटा छोरो मलेसिया, एउटा छोरो अमेरिका गएको होला, एउटा छोरो कहाँ काम गर्ने ठाउँमा गएको होला, छोरी नै बाहिर गएकी होलिन् । नातागोतालाई बलियो गर्ने काम चार्डपर्वले नै हो । संस्कारमा हामी कमजोर भइरहेका छैनौं । दसैंमै हेरौं न, काठमाडौंका आधा मान्छे चाड बनाउन बाहिर जान्छन् भनिन्छ ।
हाम्रो संस्कृति र संस्कार विदेशीकामा के फरक छ ?
पश्चिमा संस्कृतिमा एउटा क्रिसमस हुन्छ । हाम्रो जस्तो फुर्सद उनीहरूलाई छैन । फुर्सद भए घुम्न जान्छन् । उनीहरू परिवारलाई भेट्न जाने, नातागोतालाई भेट्ने एकदम कम छ । उनीहरूको सम्बन्ध भनेको ‘कोयटिस रिलेसनसिप’ मा बन्छ । त्यो भनेको जोसँग सेक्स गरिन्छ, योसँग मात्र सम्बन्ध हुन्छ । अरूसँग खासै सम्बन्ध हुँदैन ।
समाज र संस्कृतिको मूल्यमान्यतामा पनि परिवर्तनहरू देखिरहेको छैन र ?
एकदम परिवर्तन पनि भइरहेका छैनन् । परिवर्तन भनेको चाडबाड मनाइरहेका छन्, मान्नुपर्ने मान्छेलाई मानिरहेका छौं । आउने नयाँ पुस्ताले के गर्छ, थाहा छैन । ‘जेनेरेसन ग्याप’ हुन सक्छ । हिजो हाम्रा बाबुआमालाई हामीले मानिरहेका थियौं । आज हाम्रा छोरीहरूले हामीलाई मानेका छन् । तर हाम्रा छोरीका छोराहरूले के गर्छन् भन्ने थाहा छैन । नातागोता खुकुलो हुने कारण ‘इकोनोमी’ ले रहेछ । आज तपाईं काम गर्न बाहिर जानुहुन्छ । हिजो कृषिमा मात्र निर्भर थियो । ‘एगि्रकल्चर नेटवर्क’ मा नजिक हुन्छ । तर अहिले ‘एग्रिकल्चरमा डिपेन्डेन्सी’ कम हुन थाल्यो । त्यसले गर्दा आवश्यक पर्दा, चाडपर्व, संस्कारमा मात्र नातागोता चाहियो । अरू बेला नातागोता नभए पनि हुन्छ भन्ने आइसक्यो ।
तैपनि नातागोताले हामीकहाँ ‘भाइटल रोल’ खेलिरहेको छ । डोरबहादुर विष्टले त आफ्नो मान्छे नभई नेपाली समाज नै चल्दैन भनेर ‘फ्याटालिज्म एन्ड डेभलपमेन्ट’ भन्ने किताब नै लेखेका छन् । नाताले नेपाली समाजमा अहिले पनि काम गरिहरेको छ ।
आफ्नो मान्छे तपाईंको साथी पनि हुन सक्छ, श्रीमतीको भाइ पनि हुन सक्छ, अन्य नातेदार पनि हुन सक्छन् । केही परिवर्तन त आइरहेको छ, तर संस्कारमा खासै परिवर्तन भएको छैन । अहिले सांस्कृतिक पहिचानको कुरा आइरहेको छ । हिजो समग्र नेपालीको पहिचानको कुरा हुन्थ्यो । तर आज हरेक जातजातिको संस्कृतिको कुरा आइरहेका छन् ।
त्यसले हाम्रो संस्कृतिलाई बलियो बनाउँछ कि कमजोर ?
हिजो हिन्दु संस्कृतिलाई नेपाली संस्कृति भन्ने थियो । तर अब सबै जातजातिको संस्कृति मिलाएर एउटा साझा संस्कृति बनाउने बेला भएको छ, जुन नेपाली संस्कृति हुन्छ । अहिले नेपालमा ११ धर्म पुगिसकेका छन् । पढ्ने संख्या, विदेश जाने संख्या बढेका छन् । ‘एस्क्पोजर’ बढेको छ । हाम्रो सामाजिक मान्यता घटेको छैन । चार्डपर्व, संस्कृति नातागोताको मूल्य घटेको छैन । जतिबेला हाम्रो समाज औद्योगीकरणमा जान्छ । नातागोताको समाज र सम्बन्ध कम हुँदै जान्छ ।
पहिले र अहिले मनाउने चाडपर्वमा के फरक देखिन्छ ?
हिजो कस्तो थियो भने श्राद्धमा बाहुनहरूले खिर मात्र पकाएर खाने चलन थियो, त्यही चढाइन्थ्यो । त्यस बेला हामीकहाँ गाई थियो । धान बढी हुन्थ्यो, गहुँ, मकै हुन्थ्यो । बाहुनलाई त्यही दिइन्थ्यो । तर अहिले खाने कुरामा धेरै परिकार आइसके । अहिले बाहुनलाई लड्डु, पेंडा, फलफूलसहित राखेर विभिन्न कुरा दिइन्छ । त्यो संस्कारमा पनि अझ ‘इल्याबोरेसन’ भएको छ । त्यसमा खर्च कसरी कटौती गर्ने भन्ने एउटा मुद्दा त छँदै छ । दसैं हिजो टीको मात्र लगाउने र मासु मात्र खाने थियो । तर अहिले फरक हुन थालेको छ ।
अहिले दसैंलगायत अन्य चाडपर्व खर्चिलो हुँदै गएको होे ? यस्तो हुँदै गयो भने समाजले थेग्न सक्छ त ?
दसैं भन्ने चाहिँ कतिले खाने चाड भन्छन् । हिजो गरिबहरूले नयाँ लुगा लगाउने थियो । अब त्यो इस्यु भएन । सहरी क्षेत्रमा भात खानेभन्दा पनि कुन ‘क्वालिटी’ को चामलको भात खाने भन्ने भएको छ । केही ठाउँमा खानको अनिकाल छ भन्ने पनि समाचार पढिन्छ । दसैंमा नातागोतालाई भेट्ने, सिनियर मान्छेलाई भेट्ने, इष्टमित्रको हालचाल बुझ्ने गरिन्छ । यो संस्कारमा दसैं नभएर पनि छुट्टीमा आफ्नो मान्छेलाई भेट्ने, खानाका भेराइटी छन्, साथीभाइ जम्मा हुने, नयाँ पुस्तामा केही डि्रंक गर्ने चलन छ । अब दसैंलाई ठूलो दृष्टिकोणमा राख्नुहोस् । त्यसका नाममा विभिन्न क्रियाकलाप हुन्छन् । हिजो ठूलो मान्छेसँग जस्तो टीका लगाउने अहिले पनि उस्तै छन् ।
विदेशमा बसेका अझ बढी नेपाली संस्कृतिमा आकषिर्त हुन थालेका हुन् ?
मेरी छोरी अमेरिकाको डालसमा बस्छिन् । त्यहाँ हरेक दिन नेपाली महिलाले नयाँ साडी फेर्छन् भन्ने सुनें । विदेशमा बस्नेको भाषामा परिवर्तन भए पनि संस्कृतिमा कम आएको देखिन्न । युवा पुस्तामा दौरासुरुवाललाई लगाउन कम भएको हो । चाडपर्व मनाउने उस्तै छ । गुरुङ, तामाङ, राईलगायत अन्य जातजातिका विभिन्न चाड आइरहेका छन् । एक नेपालीले अर्को नेपालीलाई उनीहरूको संस्कृतिको माध्यमबाट चिन्ने माध्यम हो । संस्कारमा हिजोजस्तो ‘हार्ड एन्ड फास्ट’ थियो । आज केही ‘मोडिफाइ’ भएको छ । तर संस्कृतिलाई निरन्तरता दिइरहेको छ ।
बाहिर गएकाले किन नेपाली संस्कृतिलाई छाड्न नसकेका हुन् ?
अमेरिकाको डालसमा नेपाली भाषाको स्कुल छ । वेस्टन सोसाइटीमा भाषा स्कुल खोल्नुलाई गलत रूपमा लिइन्न । नयाँ पुस्ताले भाषा बिर्सिसके भनेर भाषा स्कुल खोलेको हो । कामको सिलसिलामा कति फुर्सद हुन्न भन्ने हो । तर चाहे तपाइर्ं बेलायत जानुहोस् वा अन्य देशमा । हरेक ठाउँमा नेपाली समाज छ । त्यहाँ बसेर दौरासुवाल लगाएर बस्ने होइन । त्यहाँ सबै जना भेटघाट गरौं भन्ने हो । सबैले पैसा उठाएर रमाइलो गर्छन् । वर्थडे पार्टी गर्न भेला हुन्छन् । नेपालीहरूले नेपाली चाडपर्वसँगै वर्थडे, क्रिसमस पनि मनाउँछन् ।
यसले प्रयागराज शर्माले लेख्नुभएको जस्तो ‘भ्यालुज अफ डोल ड्रम्स’ जस्तो स्थितिमा पुर्याउँदैन ?
मूल्य हराउँदै गयो भनेर उहाँले बृहत् सन्दर्भमा पञ्चायतका बेलामा लेख्नुभएको हो । उहाँको ‘आर्गुमेन्ट’ मा हिन्दु धर्मले नेपाललाई ‘इन्टि्रगेसन’ मा लगेको छैन भन्ने हो । त्यो राजातन्त्रविरुद्ध थियो । अहिले राजा पनि छैनन् । अहिले सेकुलारिज्म छ । एक पक्ष फेरि फर्काउँछौं भनेर लागेका छन् । तर त्यो आवश्यक छैन । हामीले सेकुलारिज्मलाई स्वीकार गरिसकेका छौं । बहुदलीय व्यवस्थामा हरेकले आफ्नो इच्छाअनुसार धर्म मान्न पाउँछन् ।
राजनीतिमा देखिएकाे आडम्बरीपनपछि हाम्रो संस्कार र संस्कृतिको केही भूमिका छ ?
आडम्बरीभन्दा पनि चाकडी प्रथा पहिलेदेखि नै देवतालाई पूजा गर्ने, राजालाई पूजा गर्ने निरन्तर छ । राजनीति किन जोड्न खोेजेको भने राजनीति भनेको पावर हो । पावरले अभ्यास गर्छ । किन एउटा इन्स्पेक्टरले काठमाडौंमा ठूलो घर बनाउँछ, उसले त्यति पैसा त कमाउँदैन होला । त्यो पैसा कहाँबाट आउँछ । नेपालमा अहिले केही पनि शुद्ध पाइँदैन । बजारमा मिसावट नै मिसावट छ । कसरी पैसा कमाउने भन्नेमा ध्यान छ ।
विभिन्न जातजातिले बनेको नेपालीको संस्कार, संस्कृति, परम्परा यति धनी हुँदाहुँदै पनि किन मूल्यमा यस्तो ह्रास आउँदै छ ?
हाम्रामा सेक्युरिटी सिस्टम नभएर होला । छिट्टै सम्पत्ति कमाउनुपर्छ । चाँडै ठूलो मान्छे बन्नुपर्छ । एक वर्षभन्दा बढी भन्सारमा जागिर हुँदैन भनेपछि उसले त्यहाँ छिटोभन्दा छिटो पैसा कमाउने भन्ने हो । नपढेकादेखि पीएचडी पढेका कर्मचारीसम्म यस्तै हुन्छन् । अख्तियार भनेको छ तर भन्नुस् त यसले के गरेको छ ? कुनै विश्वविद्यालयका प्राध्यापकलाई समातेका छन् ? अरू के गरेका छन् ? अहिले महालेखाको हेरौं, खर्बौं रुपैयाँको बेरुजु भनेर आएको छ । साभार कान्तिपुर