राष्ट्रिय महिला लिग फुटवल चितवनमा सुरु

भदौ ३०, काठमाडौँ-अखिल नेपाल फुटवल संघ एन्फाका अध्यक्ष गणेश थापाले राष्ट्रिय महिला लिग  फुटवल प्रतियोगिता चितवनको नारायणगढमा   उद्घाटन गरेका छन् । अखिल नेपाल फुटवल संघको वार्षिक कार्यक्रम अनुसार चितवन जिल्ला फुटवल संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको उद्घटन खेलमा साविक विजेता नेपाल पुलिस महिला फुटवल टीमको बिरुद्ध मध्य पश्चिमाञ्चल महिला फुटवल टीम बिच प्रतिष्पर्धा हुनेछ ।  प्रतियोगितामा तीन विभागीय टीम र पाँच विकास क्षेत्रका पाँचवटा टीम गरी८ टिम सहभागिता जनाउने चितवन जिल्ला फुटवल संघका अध्यक्ष राजेशराम श्रेष्ठले जानकारी दिनुभयो । शशस्त्र प्रहरीको एपिएएफ, नेपाल प्रहरी र त्रिभुवन आर्मी  क्लवका गरि तीन विभागीय तथा पाँचवटै विकास क्षेत्रबाट छनोट भएका खेलाडीहरुको पाँच टीम प्रतियोगितामा सहभागी हुने श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद २ लाख तथा उपविजेताले नगद १ लाख पुरस्कार पाउने संघका अध्यक्ष श्रेष्ठले वताउनुभयो । यसैगरी उत्कृष्ठ गोल रक्षक,उत्कृष्ठ डिफेन्स,उत्कृष्ठ मिडफिल्डर,उत्कृष्ठ फरवार्ड र उत्कृष्ठ प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यस अघि इलाममा राष्ट्रिय महिला लिग फुटवल भएको थियो ।