भदौ ७,कैलाली – राष्ट्रिय लिग फुटबल प्रतियोगिता कैलालीमा हुने भएको छ । कैलाली जिल्ला फुटबल सङ्घको आयोजनामा कात्तिक २१ गतेदेखि प्रतियोगिता सञ्चालन हुने सङ्घले जनाएको छ । सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद मैदान धनगढीमा खेलिने सो प्रतियोगितामा विभिन्न नौ जिल्लाका ए डिभिजन लिग समूह सहभागी हुने सङ्घका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।
करिब तीन महिनासम्म सञ्चालन हुने सो खेलको पहिलो चरणमा नौ जिल्लाका छ समूह छनोट हुने र दोस्रो तथा अन्तिम चरणमा अन्य छवटा गरी १२ टोलीबीच प्रतिस्पर्धा हुनेछ । होम एन्ड अवेको मान्यताअनुसार नेपालमा पहिलोपटक आयोजना हुने यस खेलमा सबै समूहले घरेलु मैदान र अन्य आठवटै जिल्लामा आयोजना हुने खेलमा सहभागी हुनुपर्ने व्यवस्था छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्य आयोजक रहेको यस खेलमा कैलाली जिल्लाका लागिमात्रै करिब रु ५८ लाख १४ हजार ९१४ लागत लाग्ने र करिब एक लाख दर्शकले खेल हेर्ने अनुमान रहेको सङ्घले जनाएको छ । प्रतियोगितामा विजयी हुने टोलीलाई करिब रु एक करोडको पुरस्कार वितरण गरिने जनाइएको छ ।