साउन ५, काठमाडौँ –
प्रहरीले आफ्नो काम र जनताको गुनासो सुन्नका लागि महोत्तरीको जलेश्वरमा नागरिक सुनुवाइ अभियान सुरु गरेको छ । नागरिक सुनुवाइ अभियानमा जाँडरक्सी उत्पादन, बिक्रीवितरणमा प्रतिबन्ध लगाउन स्थानीयले प्रहरीसँग अनुरोध गरेका थिए ।
शान्तिसुरक्षा बहाल लागुऔषध गाँजा तस्करी नियन्त्रण र प्रहरी जनता मैत्री बन्नुपर्नेमा नागरिक समाजका अगुवाले कार्यक्रममा जोड दिएका थिए । र्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल पन्तले जनता सादा पोसाकका प्रहरी भएकाले अवैध गतिविधि निरुत्साहित गर्नुपर्नेमा जोड दिएका थिए । गुण्डागर्दी, लागुऔषध नियन्त्रण तथा सवारी नियम कडाइका साथ लागू गराउन, अपराध र विकृतिमुक्त जिल्ला बनाउने योजनाअनुरुप विशेष अभियान सुरु गरिएको प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताए ।
उनका अनुसार अभियानका लागि जिल्ला प्रहरी कार्यालयका अतिरिक्त जिल्लामा रहेका प्रहरीका सबै युनिटलाई समेत निर्देशन दिएका छन् । सो अवसरमा प्रहरी उपरीक्षक श्रेष्ठले जिल्लाका शान्तिसुरक्षा र अपराध सम्बन्धमा त्रिवार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो भने प्रहरी नायब उपरीक्षक लोकेन्द्रमान श्रेष्ठले शान्तिसुरक्षा र प्रहरीका काम कर्तव्यबारे प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा नागरिक समाज अधिकारकर्मी, पत्रकार र सुरक्षा निकायका प्रमुखको सहभागिता थियो । नागरिक सुनुवाइ कार्यक्रम प्रहरीका ३७ वटै युनिटमा सञ्चालन गरिने बताइएको छ ।