साउन ४,काठमाडौँ – व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई विगत पाँच वर्षको लेखापरीक्षणको कागजात तीन दिनभित्र पेस गर्न निर्देशन दिएको छ । समितिको आइतबारको बैठकले सङ्घका अध्यक्ष गणेश थापालाई सबै कागजातसहित तोकिएको सयमसीमाभित्र उपस्थित हुन निर्देशन दिएको हो ।
खेलाडीको वृत्ति विकासका लागि कतारले उपलब्ध गराएको एक लाख अमेरिकी डलर अनियमितता भएको र व्यक्तिगत प्रयोजनका लागि खर्च भएको भन्ने गुनासो आम रुपमा आएपछि लेखाले सो विषयमा छानबिन गरेको हो ।
कतारका फुटबल अधिकारी मोहम्मद विन हमामले पठाएको रकम थापाका छोरा सौरभ थापाको खातामा आएको र सो रकममा व्यापक अनियमितता भएको भन्दै सङ्घका उपाध्यक्ष कर्माछिरिङ शेर्पालगायतका पदाधिकारीले लेखा समितिमा निवेदन दिएका थिए ।
पाँच वर्षको सम्पूर्ण कागजात र हिसाब किताब माग गरेको तथा अनियमितता भएको भन्ने सन्दर्भमा छानबिन हुने लेखा समितिका सदस्य धनराज गुरुङले बताए । तर अध्यक्ष थापाले भने हमामले उपलब्ध गराएको रकम व्यापार–व्यवसायका लागि उपलब्ध गराएको दलील पेस गर्दै आएका छन् ।