असार ३१, दार्चुला – आँखा कमजोर भएपछि काँडा गाविस-७ बाझका ५२ बर्षीया असमान रोकाया अघिल्लो वर्षदेखि नै यार्सागुम्बा संकलनमा लेक उक्लन छाडे । श्रीमती र ६ छोराछोरीले टिपेर ल्याएका यार्सा बेचेरै अहिले उनको घर खर्च चलेको छ । यसपाली भने यार्साको मेलो अघिल्लो वर्षजस्तो फापेन ।
यार्सा टिप्न गएका श्रीमती, छोराछोरी रित्तै हत त फर्के नै १२ बर्षीया छोरा पुरनलाई उनीहरुले उतै गुमाउनु पर्यो । यार्सा संकलनकै क्रममा जेठ अन्तिम साता हिउँमा चिप्लँदा पुरनको ठाउँको ठाउँ प्राण गयो । आजको नागरिक दैनिकले समाचार छापेको छ ।
सदरमुकाम चैनपुरस्थित बालमन्दिरमा ६ कक्षा पढ्ने पुरन स्कुल भर्ना लगत्तै सपरिवार यार्सा टिप्न गएका थिए । परिवारको घरखर्च यार्सा टिप्न गएका थिए । परिवारको घरखर्च मात्र होइन, चैनपुरको डेरा भाडा र पुरनको कापीकलम खर्च यार्साकै भरमा थियो । असमानले यार्साकै पैसाबाट दुई छोरा र चार छोरी चैनपुरमा पढाउँदै आएका थिए । यस वर्ष भने यार्सा टिप्न नसकेको र त्यसमाथि छोरा गुमाउनु पर्दाको पीडा थपिएको छ उनीमाथि ।
बेखर्ची बन्नुपरेपछि बाँकी छोराछोरीको पढाई छुटाउनु पर्ने चिन्ताले उनी पिरोलिएका छन् । ‘मलाई यसपालि यार्सा फापेन, पहिले जुन उचाईमा यार्सा पाइन्थ्यो, यसपालि त्यहाँ पाइन छाडेछ, अभफ लेकमा जानु पर्यो, त्यही कारणले हिउँमा चिप्लेर छोरा गुमाएँ, रोकायाले भने,’हामीले यार्सा टिपेर ल्याउँदा स्थानीय प्रशासनलाई कर तिर्छौँ, हाम्रै करले प्रशासन चल्छ, अहिले समस्या पर्दा क्षतिपूर्ति पनि दिनुपर्छ ।’
उनले दाबी गरे पनि क्षतिपूर्ति पाइने सम्भावना भने कम छ । अहिलेसम्म यार्सा संकलन क्रममा ज्यान गुमाएका वा अंगभंग भएका परिवारलाई कुनै किसिमको राहत तथा क्षतिपूर्ति व्यवस्था गरिएको छैन ।