वैशाख २८, काठमाडौ–साहित्यकार पारिजातको स्मृतिमा पारितजात स्मृति केन्द्रद्वारा स्थापित विसं २०७० का विभिन्न चार सम्मान शनिवार चार स्रष्टालाई समर्पण गरियो । सोअनुसार ‘पारिजात सिर्जनशील सम्मान’ साहित्यकार प्रदीप नेपाल, ‘पारिजात सङ्घर्षशील नारी सम्मान’ अधिकारकर्मी शान्तिकुमारी राई, ‘पारिजात कला’ सम्मान’ कलाकार राजन काफ्ले र ‘पारिजात बालसाहित्य सम्मान’बाट बालसाहित्यकार शान्तदास मानन्धर सम्मानित हुनुभएको छ । सो सम्मानका साथमा जनही रु १० हजार छ । वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माले ती स्रष्टालाई ती सम्मान अर्पण गर्दै परिजातले प्रगतिशील र प्रयोगवादबाट लेखन सुरु गरी नेपाली साहित्यमा नयाा सुरुआत गर्नुभएको बताउनुभयो । केन्द्रका अध्यक्ष लक्ष्मीको मालीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रा डा माणिकलाल श्रेष्ठले पारिजातले नेपाली साहित्यमा पुर्याउनुभएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । विसं २०१३ मा ‘धरती’ पत्रिकामा दुई कविता प्रकाशन गरी साहित्यमा प्रवेश गर्नुभएका पारिजातद्वारा लिखित ‘शिरीषको फूल’ उपन्यासले विसं २०२२ को मदन पुरस्कारसमेत प्राप्त गरेको थियो । सो उपन्यास अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयमा पठनपाठनसमेत भइरहेको छ ।