झापादेखि कञ्चनपुरसम्म मधेस प्रदेश बनाउने देशद्रोही कुरा हुन्: केपी शर्मा ओली

सरकार बाहिरिएपछि पनि एमाले अध्यक्ष केपी शर्मा राजनीतिको केन्द्रमा छन् । विशेषगरी संविधान संशोधनमा निर्णायक भूमिका एमालेको छ, तर उ अहिले संशोधनको लागि तयार छैन । ओलीले भने संशोधनको लागि औपचारिक प्रस्ताव नै नल्याई एमालेको काँधमा आरोपहरु आएको बताउँछन् । औचित्यपूर्ण संशोधनको विपक्षमा नहुने उनको भनाइ छ । प्रस्तुत छ ओलीसँग बालकृष्ण बस्नेत र शेखर अधिकारीले गरेको कुराकानीको सम्पादित अंश–

संविधान कार्यान्वयनका बाँकी कार्यभार पूरा गर्न दसैंपछि राजनीतिलाई कसरी डोहोर्‍याउनुहुन्छ ?

हामी संक्रमणकालमा छौं । संक्रमणकाल टुंग्याउन सबैको संयुक्त प्रयास चाहिन्छ । संयुक्त प्रयास आज पनि चाहिन्छ तर, साना स्वार्थका कारण, वैयक्तिक वा दलीय स्वार्थका कारण टुट्यो । त्यही विन्दुबाट जोड्नुपर्छ ।

तपाईं विपक्षी दलको नेता पनि हुनुहुन्छ । टुटेको सम्बन्ध जोड्ने उपाय के हुन्छ जस्तो लाग्छ ?

हाम्रो ध्यान संविधान कार्यान्वयन गर्ने र अगाडि बढ्ने भन्ने नै छ । कांग्रेसको प्रमुख दलहरु मिल्नै हुँदैन भन्ने नीति नक्कली नीति हो । त्यसले राजनीतिलाई गलत दिशातिर लग्यो । त्यो नीति स्वभाविकरुपमा आएको थिएन, अरु ढंगले अरुकै उद्देश्यका लागि र आफ्नो वैयक्तिक स्वार्थका कारणले आएको थियो । त्यसले राजनीतिलाई गलत दिशामा धकेल्यो र धेरै व्यवधानहरु पैदा भए । संविधान जारी भइसकेको अवस्थामा नेपाली कांग्रेसले गलत नीति थियो । कांग्रेसभित्र लोकतन्त्रका लागि त्याग, तपस्या, बलिदान गरेका र लोकतन्त्रप्रति निष्ठा राख्नेहरु पछाडि परे र अरुको बोलवाला चल्यो । कांग्रेस आम नेता, कार्यकर्ता र देशले चाहने निर्णय गर्ने अवस्थामा छैन ।

त्यो भनेको….
हामीबीच १६ बुँदे समझदारी भयो । संविधान बनेपछि सरकारको नेतृत्व एमालेलाई दिने भन्ने थियो । कांग्रेसले भाका फेर्‍यो । संविधान बनेपछि त्यो एकता टुट्यो, अब त्यहीँबाट सुरु गर्नुपर्छ मैले भनेको छु ।

कांग्रेसलाई यो कुरा भन्नुभएको छ ?
मैले लगातार भनिरहेको छु । मेरो नेतृत्वमा सरकार बनेपछि मैले मन्त्रिपरिषद् पुनर्गठन गर्छु, तपाईंहरु आउनुस् भन्दा संविधान कार्यान्वयन गर्ने तत्परता उहाँमा देखिएन । तर, बरु माओवादीलाई सरकारको नेतृत्व दिने, एमालेलाई एक्ल्याउने नीति लिनुभयो । एमाले एक्लिन मञ्जुर छ, प्रतिपक्षमा बसेर चुनावमा जान तयार छ । एमाले अनेक बाढीहरु वारपार गरेर आएको पार्टी हो, डुब्न लागेको पार्टीजस्तो अनेक त्यान्द्रो समाउनुपर्ने आवश्यकता छैन ।

तपाईंको भनाइले त दलहरु संवादहीनताको अवस्थामा पुगेकोजस्तो देखिन्छ । तपाईं आफूले चाँही कुनै प्रयास गर्नुभएको छ ?
संविधान कार्यान्वयन गर्न र दलीय सम्बन्धलाई पुन ट्रयाकमा ल्याउन मैले पहल गरिरहेको छु । मैले कोसिस गरिन भन्ने होइन । कांग्रेसको स्वार्थ, गलत नीति र माओवादीको त विल्कुलै सत्ता स्वार्थले प्रतिकुल असर पारेको छ । राजनीतिलाई सही ठाउँमा ल्याउने हो भने जहाँ धागो टुटेको थियो, त्यहिँबाट सम्वाद सुरु गर्नुपर्छ ।

त्यो भनेको राष्ट्रिय सहमतिको सरकार भन्न खोज्नुभएको हो ?
राम्रो कुरा त त्यही हो । तर, म अब त्यसमा धेरै जोड दिन चाहन्न । नेपालमा राष्ट्रिय सहमति अल्मल्याउन, झुक्याउन प्रयोग भएको छ । राष्ट्रिय सहमतिको कुरा गर्ने तर काम अर्कै गर्ने, द्वन्द्वतिर धकेल्ने तर सहमति भन्दै गर्ने देखिएको छ ।  प्रधानमन्त्रीले राष्ट्रिय सहमतिका लागि सरकार परिवर्तन भन्नुभयो, सहमति भत्काएर मुलुकलाई द्वन्द्वतर्फ धकेल्दै हुनुहुन्छ । मुलुकलाई द्वन्द्वतर्फ धकेलेर उहाँ केही महिना प्रधानमन्त्री हुने हो, अरु पनि केही चालहरु त होलान् । तराईको समस्या टुंगिएको थियो, आन्दोलन टुंगिएको थियो, नाकाबन्दी थिएन, भारतसँग कुनै समस्या थिएन ।

तर, ती सबै समस्या तपाईंले हल गर्न सक्नुभएन, समस्या यथावत् रहे भनेरै पुष्पकमल दाहालले तपाईंलाई साथ छाड्नुभएको होइन ?
दूत पठाएर कहाँ सपार्नुभयो उहाँलाई नै थाहा होला । आफू गएर सपारेको हो कि ? २५ बुँदे सपारेको हो कि ? घुँडा टेकाई पनि सपारेको हो कि, आदेशको तामेली गर्छु भन्ने सपारेको हो कि ? 

उहाँले भारतसँग सम्बन्ध सुधार गर्न ओली सरकार असफल भयो भने संसदमै भन्नुभयो त ?
लोभले, पापले यस्ता कुरा भन्नुपर्दो रहेछ भन्ने कुराको उहाँ प्रमाण नै हुनुभएको छ । दृष्टान्त नै हुनुभएको छ ।

तपाईंसँग भारतको सम्बन्ध चिसो भएको थिएन उसो भए ?
चिसोभन्दा माथि पुगेको थियो । नाकाबन्दी भनेकै त्योभन्दा माथि पुग्नु हो । तर, म प्रधानमन्त्री भएपछि भारत गएँ । कुराहरु भए । ईपीजी ग्रुप बन्यो । त्यसमार्फत पनि कुराहरु भए । कहिँ कतै समस्या थिएनन् । अब सम्बन्ध कहाँ बिग्रिएको थियो, उहाँले कहाँ सपार्नुभयो भन्ने जनतालाई भन्नुपर्दैन ? फेरि अर्को कुरा, धार्मिक कार्य गर्दा श्री गणेशाय नम: बाट सुरु गर्नुपर्छ भनेजस्तै उहाँले एक महिनाभित्रै भारत के उपलब्धीका लागि जानुपर्ने थियो ? के नयाँ गर्नुभयो, के थप गर्नुभयो ? देखासिकीका लागि राजकीय भ्रमण भयो होला कुराको सारतत्व त्यस्तो देखिएन । म गएका बेला समस्या थिए, समाधान भए । नयाँ बन्दरगाह लिइयो । सम्झौताहरु गरिए । असमझदारीहरु थिए, असमझारीहरु हटे ।

तर राष्ट्रियताको कुरा गर्दै भारतलाई झन् चिढ्याएको आरोप छ नि ?
प्रधानमन्त्रीजी के भन्नुहुन्छ यसबारेमा ? राष्ट्रियताको कुरा गर्नु हुँदैन, त्यसो गर्दा बिग्रियो भन्नुहुन्छ ? भारतले त्यसो भनेजस्तो लाग्दैन । उहाँको भनाइ के छ त ? उहाँले सन्तुलित सम्बन्ध बनाउँछु भन्नुभयो, आबेगमा परराष्ट्र सम्बन्ध भन्नुभयो । आबेगमा परराष्ट्र सम्बन्धको आक्रोस र निरर्थक विरोध बाहेक कुनै आबेगको सम्बन्ध देख्नुभयो त ? म प्रधानमन्त्री हुँदा तराई बन्द भएको दुई महिना भएको थियो । नाकाबन्दी भएको तीन हप्ता भएको थियो । त्यसलाई खुलाइयो । म भारत भ्रमणमा गएँ । सम्झौताहरु भए ।

अर्को कुरा, संविधान संशोधनमा तपाईंले प्रधानमन्त्रीलाई साथ दिनुभएन, बैठकमै जानुहुन्न भनिन्छ नि ?
कसले कहाँ, के सम्झौता गरेको छ मैले सोध्दै खोज्दै जाने त होइन नि π अर्थपूर्ण बैठकमा जान्छु । प्रधानमन्त्रीले देखाउनका लागि बोलाउने, मैले वार्ता गरिरहेको छु, सब मिलाउन खोज्याछु भन्ने भ्रम फिँजाउने बैठकमा म किन जाने ? त्यस्ता कुरामा म फेरि पनि जान्न । सार्वजनिक खपतका लागि हुने राजनीतिमा मेरो विश्वास छैन । उहाँले फोन गर्दा फोन उठाएकै छु । कुरा गर्न खोज्दा कुरा गरेकै छु । केका लागि बोलाएको हो भन्ने त म बुझ्छु नि राजनीति गरेको धेरै भयो ।

संविधान संशोधनका लागि तपाईसँग प्रधानमन्त्रीले छलफल गर्नुभएको छैन उसो भए ?
उहाँले सम्झौता गर्दा मलाई सोध्नुभएको थियो ? संविधान संशोधनको कुरा मसँग सोध्नुभएको छैन । कुरा आयो भने संविधान संशोधनमा छलफल गर्छौं, राम्रो कुरा भए मान्छौं, नराम्रो कुरा मान्दैनौं ।

झापादेखि कञ्चनपुरसम्म मधेस प्रदेश बनाउने कुरामा एमाले के गर्छ ?
देशद्रोही कुरा हुन्, मान्दैनौं । यस्ता कुरा नगरेकै राम्रो ।

नागरिकतामा ?
यस्तो कुरा पनि नगरेकै राम्रो ।

भाषामा ?
भाषा भनेको के ? नेपालमा हिन्दी भाषा राष्ट्रिय भाषा हुँदैन ।

भनेपछि चुनावअघि संविधान संशोधन हुँदैन ?
चुनावका लागि कुनै संवैधानिक जटिलता छन् भने हुन्छ । तर, कसैलाई खुसी पार्नका लागि, बक्साउनका लागि हुँदैन । संविधानको सर्वस्वीकार्यता भन्ने, एमालेबाहेक दुई तिहाई पुर्‍याएर पेलेर जान्छौं भन्ने । एमालेजस्तोको असहमतिका बीच सर्वस्वीकार्यताको कुरा गर्ने, चार जनाले भनेपछि सर्वस्वीकार्यता नहुने, एमालेजस्तो पार्टी विपक्षमा हुँदा पनि सर्वस्वीकार्यता हुने भन्ने जुन परिभाषा छ, आँखामा पट्टि बाँधेर हिंडेपछि के भन्ने ?

तपाईं प्रधानमन्त्री हुँदा मधेसका समस्याका बारेमा छलफल गर्नुभएको हो । भनेपछि मधेसका समस्याबारे जानकार नै हुनुहुन्छ हैन र ?
मैले प्रधानमन्त्रीका हैसियतमा बोलाएको हुँ । उहाँहरु नआउनुभएको हो । समस्या टुंग्याउन मन छैन, धेरैपटक कुरा भए, समस्या टुंग्याउन चाहनुभएन । समाधान खोज्न चाहनुभएन । देशलाई अप्ठ्यारो पार्ने काम गर्नुभयो । मेरोविरुद्ध भोट हाल्न आउनुभयो । मलाई हटाउन भोट हाल्न आउनुभयो । माओवादीले प्रस्ताव फिर्ता लिंदा कहिले दूतावासमा, कहिले होटलमा भोज खान जानुभयो । मैले त मान्छे मारिएको स्थितिलाई साम्य पारेको थिएँ नि π मेरो सरकराले मृतकका परिवारलाई १० लाख दिएको थियो । मुद्धा फिर्ताको कुरा उठाइयो । मैले भनेको थिएँ, कतै असमझदारीमा भएको छ भने ठीकै छ भनेको थिएँ ।

कैलाली घटनाका आरोपीको मुद्धा फिर्ता लिने कुरामा एमालेको धारणा के हो ?
मुद्धा फिर्ता लिने एमालेले होइन । सुतिरहेको बच्चा मारिएको छ, काममा रहेका सुरक्षाकर्मी मारिएको छ, एम्बुलेन्सबाट थुतेर सुरक्षाकर्मी मारिएको छ, सुरक्षा निकाय भनेको जसले जहाँ पनि मार्न पाउने भन्ने होइन ।

दाहाल सरकारले गराउने चुनावमा तपाईंहरु भाग लिनुहुन्छ ?
बिल्कुल लिन्छौं ।

उहाँले चुनाव गराउन सक्नुहुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ?
म मुस्किल देख्छु । उहाँहरुको उद्देश्य फरक हो कि भन्ने शंका छ ।

चुनाव गराउन सकेन भने…?
चुनाव गराउन सकेन भने सरकारको औचित्य समाप्त हुन्छ । ०७४ माघ ७ भित्र संवैधानिक र राजनीतिक जटिलता अन्त्य गर्न सकेन भने देशकाविरुद्ध अपराध हुनेछ । उहाँहरुका छलछाम कुराहरु पर्दाफास हुन्छन् ।

संवैधानिक संकट निम्त्याएर एमालेले राष्ट्रपतिलाई अघि सार्दैछ भन्ने आरोप लगाउँछन् नि ?
एमालेको राष्ट्रपति छैन । एमालेले उम्मेदवार बनाएको थियो ।

साभार् – कान्तिपुर