लोकमानविरुद्ध प्रयोग गरिएको हस्ताक्षरबारे के भन्छ्न त उर्जामन्त्री

 

५ कात्तिक, काठमाडौं । माओवादी नेता एवं उर्जामन्त्री जनार्दन शर्मामाथि आफ्ना सांसदहरुको हस्ताक्षर दुरुपयोग गरेको आरोप लागेको छ । लोकमानविरुद्धको महाअभियोग प्रस्तावमा प्रयोग भएको हस्ताक्षर शर्माले दुरुपयोग गरेको भन्दै विहीबारको बैठकमा केही सांसदहरुले उनीमाथि कारवाहीको माग गरेका थिए ।

लोकमानविरुद्ध प्रयोग गरिएको हस्ताक्षरबारे  मन्त्री शर्मासँग प्रश्न गर्दा उनले कतिपय कामहरु सांकेतिकरुपमा गर्नुपर्ने भएकाले केही सांसदहरुमा कन्फ्युजन हुनु स्वाभाविकै भएको बताए ।

‘हस्ताक्षरबारे मैले धेरै टिप्पणी गर्दिँन,  अध्यक्षलाई पनि धेरै कुराहरु थाहा छ,’ मन्त्री शर्माले  भने, ‘हाम्रो पार्टी लोकमानसिंह कार्कीलाई कारवाही गर्नेबारे स्पष्ट छ । पार्टीको निर्णय उनलाई कारवाही गर्नुपर्छ भन्ने नै छ ।’

हतारमा काम गर्नुपरेकाले केही सांसदहरुलाई कन्फ्युजन भएको र कतिपय सांसदहरु हस्ताक्षरबारे विस्तृतमा स्पष्ट नभएको हुनसक्ने शर्माले बताए । उनले भने, ‘तर, विहीबारको बैठकपछि अस्पष्ट रहेका सांसदहरु अब पनि स्पष्ट भइसक्नुभएको छ । त्यसैले अब यो कन्फ्युजन हटिसकेको छ ।’

महाअभियोगको प्रक्रिया अघि बढिसकेकाले अब पार्टी पछाडि फर्किन नसक्ने शर्माले बताए । ‘पार्टीलाई पछाडि फर्काउनका लागि यो प्रस्ताव पेश गरेको होइन, अब पार्टी अगाडि बढिसक्यो,’ शर्माले  भने, ‘म पार्टीको इमान्दार सिपाही हुँ, पार्टीले कारवाही गर्छ भने भोग्न तयार छु ।’