सार्कका सांसदहरुको सम्मेलन आजदेखि काठमाडौंमा

असोज १३, काठमाडौं – दक्षिणी एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका सांसदहरुको सम्मेलन आजदेखि काठमाडौंमा हरने भएको छ ।
१९ औं शिखर सम्मेलन अनिश्चित भएको खबर आइरहेका बेला सांसदहरुको बैठक हुन लागेको हो । दुई दिनसम्म चल्ने सम्मेलन बिहान ९ बजे सुरु हुनेछ । सांसदहरुको सम्मेलनमा अफगानिस्तान र माल्दिभ्सका प्रतिनिधी भने सहभागी नहुने भएका छन् । भारतबाट विज्ञहरु सहभागि भए पनि सांसदहरु उपस्थित हुने छैनन् ।
कर्मचारीतन्त्रमा जेलिएका कारण सार्कले कुनै पनि काम अघि बढाउन नसकेको भन्दै राजनीतिक स्तरमा यसको प्रभावकारीता बढाउन भन्दै काठमाडौंमा सम्मेलन गर्न लागिएको हो । सार्क अध्यक्ष मुलुक नेपालको संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको अगुवाईमा सम्मेलन हुन लागेको हो । सम्मेलन आयोजना गर्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा उपसमिति निर्माण गरिएको थियो ।
सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु हुनेछ । सार्कलाई प्रभावकारी र सशक्त बनाउन आवश्यक निर्देशन दिने छलफलमा नेपाल, भारत, बंगलादेश, पाकिस्तानका विज्ञले आधा दर्जन कार्यपत्र पेस गर्ने कार्यक्रम छ । विभिन्न सत्रमा नेपालका पूर्व उपप्रधानमन्त्रीहरू भीम रावल, नारायणकाजी श्रेष्ठ, कमल थापा, सुजाता कोइराला र विजयकुमार गच्छदारले अध्यक्षता गर्ने व्यवस्था मिलाइएको छ ।