‘काँग्रेसमा शेरबहादुर र रामचन्द्रजस्ता धेरै नेता छन्, सधैं समुहमा रमाउनेहरुको भविश्य छैन’ – नेता डा. महत

काठमाडाैं । नेपाली काँग्रेस अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा छ । काँग्रेसभित्र अहिले पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलवीच विवाद छ ।
यी दुई नेताहरुवीच त्यति राम्रो सम्बन्ध छैन् । नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई एकलौटी ढंगले अघि बढाएको आरोप लगाएका छन् ।
संविधान संशोधन लगायत अन्य राष्ट्रिय मुद्दाहरुमा पार्टीभित्र छलफल गर्नुपर्छ भन्ने नेता पौडेल पक्षको माग छ । तर अहिलेसम्म केन्द्रिय समितिको बैठक बोलाउने सुरसार पार्टी सभापति देउवाले देखाएका छैनन् । यीनै विषयमा केन्द्रित काँग्रेस नेता डा. रामशरण महतसँग गरेको कुराकानीको सम्पादित अंश :
के पार्टीभित्र असन्तुष्ट पक्षहरुले केन्द्रिय समितिको बैठक बोलाएका हुन ?
असन्तुष्ट वा सन्तुष्टको कुरा होईन् । कसले यस्ता भन्छ मलाई थाहा छैन् । तर म चाहीँ असन्तुष्ट वा सन्तुष्टको विवादमा पर्न चाहन्न् । मुल कुरा अहिले देशमा गम्भिर समस्याहरु अघि बढेका छन् । मुल कुरा यी समस्याहरुको समाधान गर्नुपर्यो भन्ने विषयमा पार्टीभित्र कुरो उठेको हो । मुलुकको समस्याको निकासको लागि केन्द्रिय समितिको बैठक बोलाउनुपर्यो भनिएको हो । त्यही आवाज रामचन्द्र पौडेलजीले पनि उठाउनुभएको होला । अहिले संविधान संशोधनबारेमापनि कुरा उठिरहेको छ । यो बारेमा पनि पार्टीभित्र छलफल गर्नुपर्छ । त्यस्तैगरि स्थानीय निकायको वा तहको पूर्नसंरचनाको कुराहरु छन् । सरकारको सञ्चालनको विधिका कुराहरु छन्, यी बारेमा पार्टीभित्र छलफल गर्नुपर्छ भनेको हो । यो नौलो कुरा होईन् ।

तर पनि हिजो तपाईहरुलाई रामचन्द्र पौडेलले सम्पर्क कार्यालयमा बोलाएर छलफल गर्नुभयो रे नि ?

अब म यस्तो आन्तरिक विषयमा कुरा गर्न चाहाँदिन् । छलफल त बारम्बार भैरहन्छन् । छलफल नै नगर्ने अनि सबैको मुख बन्द गरेर त पार्टी चल्दैन न् ि। त्यसकारण छलफल हुने कुरा कुनै नौलो कुरा होईन् ।

उसो भए संविधान संशोधनमा तपाईहरुको विमति छ ?

कसले भन्यो ?हाम्रो विमति छ भनेर । राष्ट्रका गम्भिर विषयमा छलफल त गर्नुपर्यो नि । विमति भनेको के हो ? छलफल हुनुपर्छ भन्नु नै विमति हो र ?
तर पनि रामचन्द्र पौडेलले संविधान संशोधनबारे संस्थागत रुपमा निर्णय हुनुपर्छ भन्नुभएको छ नि ?
उहाँले के के भन्नुभयो त्यसबारेमा मलाई कुनै जानकारी छैन । तर संविधान संशोधनको विषय गम्भिर विषय हो । यसबारेमा पार्टीभित्र एउटा पोजिसन त बनाउनुपर्यो नि।

उसो भए आजको दिनमा तपाईको पार्टीमा संविधान संशोधन गर्ने वा नगर्ने बारेमा बहस छ ?

संविधान संशोधन गर्ने वा नगर्ने भन्दापनि आवश्यक पर्यो भने गर्नुपर्छ । कसले भनेको छ र यहाँ गर्नुपर्दैन भनेर ? मधेशको मुद्दाको जुन कुरा छ । उहाँहरु वर्षौदेखि आन्दोलन गर्दै आउनुभएको छ । असन्तुष्ट हुनुहुन्छ । त्यसो भएको हुँदा यो बारेमा राष्ट्रिय सहमति जुटाएर समाधान निकाल्नुपर्छ । आवश्यक पर्यो भने संशोधन पनि गर्नुपर्छ । त्यसको लागि पनि तयार हुनुपर्छ ।

पार्टी सभापतिले अब केन्द्रिय समितिको बैठक बोलाउनुपर्छ भन्ने तपाईहरुको माग हो ?
हो नि । बोलाउनुपर्छ । विधान अनुसार पनि बोलाउनुपर्ने आवश्यकत्ता छ । बैठक बोलाउनुपर्छ भन्नु के अनौंठो कुरा हो र ? कार्यसमितिको बैठक बोलाउनुपर्छ अनि कतिपय विषयमा संस्थागत निर्णय गर्नुपर्छ भन्ने कुरा बहस र विवादको विषय होईन् । यी कुराहरु भनेको पार्टीका आन्तरिक कुराहरु हुन् । आन्तरिक छलफलको विषय हो । यो कुनै झैझगडा वा असन्तुष्टहरुको कुरा होईन् । पार्टीलाई अघि बढाउनको लागि राष्ट्रिय महत्वको विषयमा छलफल गर्नुपर्यो । अहिले नै यहाँ सरकार जसरी चलेको छ । प्रधानमन्त्री प्रचण्डजीले जसरी घोषणा गर्नुभएको छ, त्यसमा कतिपय कुराहरु चित्त नबुझेका कुराहरु छन् । त्यसबारेमा पनि पार्टीभित्र छलफल हुनुपछै । माओवादीभित्र र एमालेभित्र त छलफल भैरहेको छ । त्यसैले काँग्रेसभित्र पनि छलफल गर्नुपर्छ भन्ने कुरा के अनौठो विषय भयो र ?

तर अहिलेको अवस्थामा काँग्रेसभित्रै यस्तो असन्तुष्टि देखिँदा समस्याको समाधान त नहुने भयो नि ?

समस्या समाधान गर्नकैलागि छलफलको कुरा हो । यो कुनै समस्या झन बल्झाउनको लागि छलफल गर्नुपर्छ भनिएको होईन नि । समस्या सुल्झाउनको लागि परामर्श जरुरी छ । पार्टीमा आन्तरिक छलफल गर्नुपर्छ भनिएको हो ।

उसो भए अहिलेसम्म पार्टीमा आन्तरिक छलफल भएको छैन ?

त्यही आन्तरिक छलफल नभएको कारणले नै छलफलको माग गरिएको हो ।
स्थानीय निकाय पूर्नसंरचनाबारे तीन दलवीच सहमति भएको हो ?
खै, सहमति भएको कुरा मलाई जानकारी छैन् ।

एमालेपनि स्थानीय तहको संख्या बढाउन लचिलो भयो रे नि ?

होला, तर यो बारेमा मलाई कुनै जानकारी नै छैन् ।

एमाले अध्यक्ष केपी ओलीले तपाईकै अगाडि काँग्रेस अघाएर बसेको बाघ भन्नुभएछ, यसबारेमा तपाई के भन्नुहुन्छ ?


मैले हिजै प्रतिक्रिया दिईसकेको छु । काँग्रेस सवल छ भनेको थिएँ । ओलीजी ठट्टा गर्नुहुन्छ, अनि मजाक गर्नुहुन्छ । उहाँकै पछि पछि लागेर मैले बोल्ने होईन् । उहाँले काँग्रेसले विपीलाई बिर्सियो भन्नुभयो, तर मैले त्यही मञ्चबाट काँग्रेसले विपीलाई बिर्सिएको छैन् । बरु झन बलियो बनाएको छ । विपीको विचारलाई बलियो बनाएको छ भनेर जवाफ दिएँ ।
तर नेपाली काँग्रेसभित्र अहिले प्रतिपक्ष पनि छ नि ?
त्यसै भएर त मैले तपाईलाई को कसको विरोधी, को प्रतिपक्षी भनेर भन्नु भन्दापनि सकारात्मक रुपमा सोच्नुपर्छ भनेको हो ।

रामचन्द्र पौडेल र शेरबहादुरवीच राम्रो सम्बन्ध छैन नि ?
यो पार्टीमा रामचन्द्र र शेरबहादुरमात्रै छैनन् । यो पार्टीमा रामचन्द्र र शेरबहादुरजस्ता नेताहरु धेरै छन् । त्यसकारण रामचन्द्र र शेरबहादुर मात्रै नभन्नुहोस् । पार्टीभित्र समूहको राजनीतिमा मात्रै हुँदैन् । विवेकको राजनीति पनि हुन्छ ।
प्रस्तुतीः पत्रकार ऋषि धमला