लालजोडी भदौ १७ गते शुक्रबारदेखि प्रदर्शनमा आउँदै

काठमाडौ – हिन्दु नारीहरुको महान चाड तीज पर्वको रौनकतासँगसँगै नेपाली रंगमञ्चमा यतिखेर दर्शकहरुले व्यग्रताका साथ प्रतिक्षा गरिरहेको चलचित्र लालजोडी रिलिज हुँदैछ ।हाँस्यटेलिश्रृंखला ‘मेरी बास्सै’ र ‘तितो सत्य’मा नक्कली डा. बाबुराम भट्टराईको अभिनय गरेर चर्चामा आएका कलाकार ज्योति काफ्ले अभिनित लालजोडी भदौ १७ गते शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ।

चलचित्रमा उनले लालेको भूमिकासँगै नक्कली बाबुरामसमेत बनेर अभिनय गरेका छन्। लालजोडीमा ज्योति काफ्लेको साथमा अभिनेत्रीहरु रजनी केसी र आयुष्मा कार्की पनि प्रमुख भूमिकामा देखिएका छन् । ज्योतिले फिल्ममा कमेडी मात्रै नभई भरपुर एक्सन, रोमान्स र डान्स पनि भएको जानकारी दिए। उनले आफूले सबै किसिमको मेहेनत गरेको भन्दै फरक स्वाद रहेको बताए। ।

हाँस्य ब्यङ्ग्यको फाँटमा जमेका ज्योति काफ्ले नायकको रुपमा नौलो देखिएका छन्। पत्रकार लक्ष्मण सुवेदीले निर्देशन गरेको ’लालजोडी’ले दर्शकलाई भरपुर मनोरञ्जन दिने निर्माण पक्षको दावी छ। चलचित्रमा नेपाली टेलिभिजन दुनियाँमा चम्केका थुप्रै हास्य कलाकारहरुको अभिनय रहेको छ । बुद्धि तामाङ (हैट), किशोर भण्डारी (डिट्ठा साब), रेश्मा तिमल्सिना (बुनु मैचा)लगायतका कलाकार पनि छन्। चलचित्र प्रर्दशनको नजिक आउदै गर्दा ‘लाल जोडी’ युनिटले प्रचारको कामलाई निरन्तरता दिएका छन्। निर्माता तथा निर्देशक लक्ष्मण सुवेदीले ‘लालजोडी’ मा सुःख, दुखका साथै मनोरन्जनात्मक बिषय बस्तुलाई मिश्रण गरिएको बताए।