भूकम्प पीडितलाई थप एक लाख

भदौ ८ , काठमाडौँ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक सातामै थप ५७ हजार भूकम्पप्रभावितलाई घर निर्माणका लागि पहिलो किस्ताको अनुदान रकम वितरण गरेको छ । यससँगै पहिलो किस्ताको अनुदान पाउनेको संख्या एक लाख नाघेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले ४५ दिनभित्र सबै भूकम्प प्रभावितसँग अनुदान सम्झौता गरिसक्ने घोषणा गरेपछि ३१ साउनदेखि प्राधिकरणले विशेष अभियान सुरु गरेको थियो ।
प्राधिकरणले छोटो समयमा यति धेरैलाई पहिलो किस्ताको रकम वितरण गरेको हो । भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका ५ लाख ३३ हजार प्रभावितलाई पहिलो किस्ताको ५० हजार रकम वितरण गर्नुपर्नेमा हालसम्म १ लाख ६ हजार ९५९ सम्म यो सुविधा पुगेको प्राधिकरणका सहसचिव एवं प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिएका छन ।
उनका अनुसार, हालसम्म ३ लाख ८४ हजार भूकम्प प्रभावितसँग अनुदान सम्झौता भैसकेको छ ।
पछिल्लो अभियानको क्रममा थप ४४ हजारसँग अनुदान सम्झौता गरिएको हो । हालसम्म दोस्रो र तेस्रो किस्ता कुनै प्रभावितलाई दिइएको छैन भने पहिलो किस्ता पाएका ५ हजारभन्दा बढीले घर निर्माण सुरु गरे पनि सरकारी अनुदान पाएर एक जना प्रभावितले पनि सम्पन्न गर्न सकेका छैनन् ।
अभियान सुरु गर्नुअघि ३१ साउनसम्म प्राधिकरणले ३ लाख ३९ हजार ४ सय ६२ घरधनीसँग अनुदान सम्झौता र ४९ हजार ७ सय ४९ प्रभावितलाई पहिलो किस्ताको रकम दिएको थियो ।अाजकाे काराेबारमा समाचार छ ।