यसो भन्दै टिममा फर्किए मेसी…

साउन ३०, काठमाडौँ –  स्टार फुटबलर लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्कने घोषणा गरेका छन् ।

हालै सन्यास लिएको घोषणा गरेका मेसीले पुनः टिममा फर्कने घोषणपछि उनको नाम वर्ल्ड कप क्वालिफायर टिममा समावेश गरिएको छ। सेप्टेम्बरमा क्वालिफायर प्रतिस्पर्धामा अर्जेन्टिनाको टिम उरुग्वे र भेनेजुयलासँग भिड्नेछ।
मेसीले टिम फर्कने घोषणा देशप्रेमका कारण भएको बताएका छन् । उनले अर्जेन्टिनाको जर्सी आफ्ना लागि महत्वपूर्ण अर्थ राख्ने बताएका छन् ।
अर्जेन्टिनाका टिम म्यानेजर एडगार्दो बाउसाले बार्सिलोनामा लियोनल मेसीसँग भेट गर्दै यसी साता मेसी टिममा फर्कने अपेक्षा गरेको बताए ।
संसारका उत्कृष्ट खेलाडीमध्येका एक लियोनल मेसीले जुनमा कोपा अमेरिका कपको फाइनलमा अर्जेन्टिनाको पराजयपछि भावकु मुद्रामा राष्ट्रिय टिमबाट सन्यास लिएको घोषणा गरेका थिए ।
चिलीसँग भएको फाइनल प्रतिस्पर्धामा पेनाल्टी शुटआउटमा चुकेपछि अर्जेन्टिनी टिम पराजित भएको थियो । विगत ९ वर्षमा कुनै पनि फाइनलमा भएको यो चौथो पराजय थियो ।
मेसीले भने–फाइनलको राति मेरो मनमा धेरै कुरा चलिरहेको थियो र मैले टिम छोड्ने विषयमा गम्भीरतापूर्वक सोचेँ, तर मेरो देश र मेरो जर्सीका लागि मेरो प्रेम ठुलो थियो ।
२९ वर्षीय मेसी अर्जेन्टिनाका सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले १३३ प्रतियोगितामा टिमका लागि ५५ गोल गरेका छन् ।
उनले भने–अर्जेन्टिनाको फुटबलमा धेरै कुरा ठिक गर्नुछ । तर म यो टिममै रहेर गर्न चाहन्छु । टिमबाहिर रहेर आलोचनाको माध्यमबाट होइन ।
सन् २००८ मा भएको बेइजिङ ओलम्पिकमा अर्जेन्टिनाका लागि स्वर्ण पदक दिलाउन मेसीको अन्तर्राष्ट्रियस्तरमा एकमात्र उपलव्धी मान्ने गरिएको छ। एजेन्सी