रियो ओलम्पिकमा नेपाल आज ३ वटा स्पर्धामा भिड्दै

साउन २५ ,काठमाडौं– रियो ओलम्पिकमा मंगलबार नेपालका तीन खेलाडीको भाग्यको परिक्षा हुँदैछ। रियोमा नेपाली झन्डा बोकेकी जुडोकी फुपु ल्हामु खत्री, आर्चरीका जीतबहादुर मोक्तान र राष्ट्रिय कीर्तिमानधारी पौडीबाज शिरिष गुरुङ मंगलबार भिड्दैछन्।

फुपुले ६३ केजी तौल समूहमा क्युबाकी मारिसेट इस्पेनोसासँग प्रतिस्पर्धा गर्दैछिन्। उनको खेल नेपाली समयअनुसार बिहान ७ बजेर १३ मिनेट जाँदा हुँदैछ। फुपु १२ औं दक्षिण एसियाली खेलकुद (साग) कि स्वर्ण विजेता खेलाडी हुन्। उनले हाल ओलम्पिक खेलिरहेको ७ नेपाली खेलाडीमा स्वर्ण जित्ने एक मात्र खेलाडी हुन्।

फुपुबाट नेपालले धेरै आशा राखेको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी(आइओसी) को छात्रवृत्तिमा ६ महिना हंगेरीमा अभ्यास गरेकी फुपु ६३ केजीकी बलियो प्रतिस्पर्धी पनि हुन्।

यस्तै, नेपाली आर्चर जीतबहादुर मोक्तान साँझ ५ बजेर २१ मिनेटमा भिड्दै छन्। उनी अन्तिम १६ मा प्रवेश गर्न भारतका अतानु दाससँग पुरुष एकल स्पर्धामा भिड्ने छन्। ‘र्याङ्किङ राउन्ड’ मा उनको प्रदर्शन फितलो भएपछि उनले अतानुसँग प्रतिस्पर्धा गर्नु पर्ने भएको हो। ६४ खेलाडी सहभागी ‘र्याङ्किङ राउन्ड’ मा जीतु ६० स्थानमा पुगेका थिए। उनले कूल ६ सय ७ को मात्र स्कोर गरे।

भारतका अतानु दासले कूल ६ सय ८३ अंक स्कोर गरेका थिए। दास ‘र्याङ्किङ राउन्ड’ मा पाँचौ स्थान बनाउन सफल भएका थिए। यो स्पर्धा जितेको खण्डमा जीत अन्तिम १६ मा प्रवेश गर्नेछन्। अन्तिम १६ मा पनि छनोट भएको खण्डमा अन्तिम ८ मा स्वर्णका लागि प्रतिस्पर्धा गर्न पाउने छन्। स्वर्णको स्पर्धा मंगलबार नै हुनेछ।

राष्ट्रिय कीर्तिमानधारी पौडीबाज शिरिषको सय मिटर फ्रिस्टाइल स्पर्धा पनि मंगलबार नै हुनेछ। उनको खेल राती ९ बजेर ५० मिनेटमा हुँदैछ। शिरिष लेन नम्बर २ मा भिड्दैछन्। जसमा उनले ७ जना प्रतिस्पर्धीसँग भिड्नु पर्नेछ। यो स्पर्धामा शिरिषको नाममा राष्ट्रिय कीर्तिमान छ। उनले ५८ दशमलव २२ सेकेन्डमा यो दुरी पुरा गरेका थिए। तर, ओलम्पिकमा प्रतिस्पर्धा गर्न लागेका अन्य खेलाडीभन्दा उनको समय खराब हो। सबैभन्दा राम्रो समय श्रीलंकाका म्याथ्यु डुन्कान अभयसिङ्गेको छ। उनले ५० दशमलव ९३ सेकेन्डमा यो दुरी पुरा गरेका छन्।

शिरिषले मंगलबारको स्पर्धामा आफ्नो लक्ष्य नयाँ राष्ट्रिय कीर्तिमान बनाउने रहेको बताएका छन्।