गरिबी, विपन्नता, अभाव र अशिक्षाका कारणले बढायो आत्महत्या

सन्तोष गौतम

म्याग्दी- बेनी नगरपालिका–११ भिरमुनिमा २०७२ साल असोजमा ४० वर्षीया महिलाले झुन्डिएर आत्महत्या गरिन् ।

भिरमुनिको आत्महत्याको घटना सेलाउन नपाउँदै नगरपालिकाकै ५ नम्बर वडामा पर्ने थाकनपोखरीमा पनि त्यस्तै घटना घट्यो । बाइस वर्षीया अर्की युवतीले देहत्याग गरिन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा मासिक दुई वटा आत्महत्याको घटना दर्ता हुन्छन् । अधिकांशले आत्महत्या गर्नुको कारण भने समान छ ।

प्रहरी निरीक्षक लोकेन्द्र सिङ गुरुको भनाइमा म्याग्दीमा बर्सेनि बढ्दै गएको आत्महत्याको प्रमुख कारण गरिबीसँग जोडिएको छ । “आत्महत्या गर्नेमा बढी विपन्न समुदायका महिला छन्,” प्रहरी निरीक्षक गुरुले भन्नुभयो – “गरिबी, विपन्नता, अभाव र अशिक्षाका कारण आत्महत्याको बाटो रोजेको देखिन्छ ।” भिरमुनिकी महिलाले ऋण तिर्न नसकेपछि आत्महत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । श्रीमान्ले घर व्यवहारमा चासो नदिने र बरालिएर हिँड्ने समस्या थियो ।

घरव्यवहार चलाउन लिएको ऋण तिर्न नसकेपछि उनी मानसिक तनावमा थिइन् । समाजमा बेइज्जत हुने डरले आत्महत्याको बाटो रोजिएको सो घटनाको अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक गुरुले बताउनुभयो । थाकनपोखरीकी युवतीले आत्महत्या गर्नुको पछाडि पनि गरिबी र परिवारको कमजोर आर्थिक अवस्था देखिएको छ । कक्षा १२ पढ्दै गरेकी अविवाहित ती युवतीले डायरीमा नोट लेखेर आत्महत्या गरेकी थिइन् । ‘सुसाइड नोट’मा उल्लेख भएअनुसार उनको स्वास्थ्य परिचारिका बन्ने इच्छा थियो । घरको कमजोर आर्थिक अवस्थाले उनको लक्ष्यमा ठेस लाग्यो ।

उनले दश जोड दुई तहको शिक्षालाई पनि निरन्तरता दिन नसक्ने अवस्था आएपछि संसारबाट बिदा लिने कठोर निर्णय लिएको नोटमा लेखेकी छिन् । भिरमुनि र थाकनपोखरीमा आत्महत्या गर्ने महिला र युवती दलित समुदायका हुन् । प्रहरीका अनुसार उनीहरुले त्यसअघि पनि दुईपटक आत्महत्याको प्रयास गरेका थिए । ग्रामीण भेग, अशिक्षित महिला र दलित समुदायमा आत्महत्याको समस्या बढेको प्रहरीको तथ्याङ्क छ । पछिल्लो तीन आर्थिक वर्षमा जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या ५९ जना छ । तेत्तीस महिला र २६ जना पुरुषले आत्महत्या गरेका हुन् । आव २०७२७३ मा ११ पुरुष, १४ महिला, २०७१७२ मा १३ महिला, १३ पुरुष र २०७०७१ मा ६ महिला र आठ पुरुषले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्ने धेरै २५ देखि ४० वर्ष उमेर समूहका छन् । प्रौढले घरव्यवहार चलाउन, ऋण तिर्न, छोराछोरी पढाउन नसक्ने अवस्था आएपछि मानसिक तनाव उत्पन्न भई आत्महत्या गरेको देखिन्छ । युवायुवतीले आत्महत्या गर्नुका कारणमा मुख्यतः आवेगको निर्णय, पढाइ र प्रेममा असफलता, तथा बेरोजगारी देखिएको छ । पिप्लेमा गत हिउँदमा १३ वर्षीया किशोरीले छिमेकीले गरेको गाली सहन नसकेर आत्महत्या गरेकी थिइन् । स्याउला चोरेको आरोपमा छिमेकीले अश्लील शब्द प्रयोग गरेर गाली गरेपछि आवेग र रिसले गर्दा किशोरीले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

पचास वर्षभन्दा बढी उमेरका मानिसले एक्लोपनाको महसुस गर्ने, मानसिक तनाव र जटिल रोगको पीडा सहन नसकेर आत्महत्या गरेको पाइएको छ । बेनी नगरपालिका–१२ चिप्लेटीमा ५६ वर्षीया वृद्धाले २०७२ साल फागुनको शिवरात्रिको दिन सबै आफन्तलाई फोन गरेर आत्महत्या गरेकी थिइन् । मानसिक रोगको औषधि सेवन गरिरहेकी उनले श्रीमान् बाख्रा चराउन गएको र घरमा कोही नभएको समयमा आत्महत्या गरेकी हुन् । आफन्त र परिवारका सदस्यको चहलपहल हुनपर्ने चाडपर्वको दिन घर सुनसान बनेपछि एक्लोपन महसुस गरेर उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

वैदेशिक रोजगारी र सहरमा बढ्दो बसाइँसराइले गर्दा ग्रामीण क्षेत्रका वृद्धवृद्धामा एक्लोपना महसुस भई तनावको समस्या देखिएको छ । पैसा, पहुँचवालाको बोलवाला हँुदै गएको समाजमा विपन्नको समस्यालाई बेवास्ता गर्ने तर उनीहरुलाई मनोसामाजिक परामर्श नहुने स्थिति देखिएको छ । अर्कोतर्फ मानिसमा आफ्नो हैसियतभन्दा बढी सुख, सुविधा र विलाशीको महत्वाकाङ्क्षा तथा चाहना पलाउने र नैतिकतालाई महत्व नदिने प्रवृत्ति बढ्दै गएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसका प्रध्यापक तारानाथ शर्मा मानिसको क्षमता, चाहना र परिवेशबीचको अन्तद्र्वन्द्वले मृत्युइच्छाको भावना जगाउने बताउनुहुन्छ । गरिबी र आर्थिक अभावले मानिसको इच्छा पूरा गर्न बाधा सिर्जना गरेपछि निराशा, जीवनप्रति नकारात्मक सोच र मानसिक तनावका कारण आत्महत्याको बाटो रोज्न बाध्य हुने शर्माको भनाइ छ ।

“राज्यले गरिब, विपन्न समुदायका लागि उपलब्ध गराउने सेवा सुविधा उनीहरुसम्म नपुग्नुको परिणाम आत्महत्याको डरलाग्दो रुपलाई लिन सकिन्छ,” प्रध्यापक शर्माले भन्नुभयो – “राज्यले लक्ष्यित समुदायका लागि उपलब्ध गराउने सेवा सुविधा कुनै सीमित व्यक्तिमा पुगेर रोकिँदा यस्तो अवस्था आएको हो ।”

गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, आयआर्जन वृद्धिका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट परिचालन हुने बजेट लक्ष्यित समुदायसम्म पुग्न सक्ने हो भने उनीहरुको आर्थिक स्रोतमा पहुँच बढेर सामाजिक र आर्थिक समस्या न्यून हुने शर्माले बताउनुभयो । समाजमा निराशा र वितृष्णाको भावना बढ्दो छ भने त्यसलाई न्यून गर्ने खालका जीवनोपयोगी शिक्षा, मनोवैज्ञानिक परामर्श तथा क्षमतावान्लाई अवसर र सम्मान हुने वातावरण छैन ।

गरिबी र मानसिक विचलनका कारण आत्महत्याका घटना बढेको देखिएकाले सचेतनामूलक अभियान सञ्चालन गर्ने तयारी गरेको म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताउनुभयो । “समाजले गरिब, अशिक्षित, अपहेलित, विपन्न वर्ग र मानसिक रुपमा कमजोर भएकालाई सहानुभूति र सहयोगी व्यवहार देखाउनुपर्छ,” प्रनाउ खड्काले भननुभयो – “प्रहरीले सामाजिक सङ्घसंस्थासँग समन्वय गरेर विद्यालय र समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ ।”