आफ्नो पाँचौ प्रोजेक्टमा नयाँ नायिकासँग रोमान्स गर्दै नायक अनमोल केसी

काठमाडौं – अन्तत, नायक अनमोल केसीले आफ्नो पाँचौ प्रोजेक्टमा पनि नयाँ नायिकासँग नै रोमान्स गर्ने भएका छन् । उनले काम गर्न लागेको नयाँ चलचित्र ‘कृ’का लागि नायिका फाइनल गरिएको छ । अघिल्ला ४ चलचित्रमा पनि उनले नयाँ नायिकासँग नै काम गरेका थिए ।

अनमोलले यो चलचित्रमा काम गरेवापत्त २० लाख पारिश्रमिक लिएका थिए । अनमोलले काम गर्ने संझौता भएकै दिनबाट यसको निर्माणपक्षले नायिकाको खोजी गरेको थियो । नायिकाका लागि ३० जनाले निवेदन दिएका थिए ।
जसमध्येबाट १० जनालाई छानेर अडिसन लिइएको थियो । १० जनाको अडिसनबाट चलचित्रको मुख्य भूमिकामा मोडल अदिती वुढाथोकी फाइनल गरिएको निर्माणपक्षले जानकारी दिएको छ । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गर्नेछ ।
चलचित्रमा सुवास गिरी र भूवन केसी निर्माता रहेका छन् । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रमा श्री पराजुली सह–निर्माता हुन् ।
चलचित्रको छायांकन माघबाट सुरु हुने निर्माता सुवास गिरीले जानकारी दिएका छन् । यो चलचित्रका लागि अहिले नायक अनमोल केसी विभिन्न तालिम लिइरहेका छन् । चलचित्रलाई चर्चित सम्पादक तथा चलचित्र ‘आभाष’ निर्देशन गरेका निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् ।
चलचित्र ‘कृ’को मेकिङ, कथावस्तुमा विशेष ध्यान दिएर काम भैरहेको निर्देशक पौडेलले जानकारी दिए ।

को हुन् अदिती ?

चर्चित ब्यानरका साथमा अहिलेका सुपरस्टार नायक अनमोल केसीस“ग काम गर्न लागेकी अदिती बुढाथोकी चर्चित मोडल हुन् । उनको सामाजिक संजाल इन्स्ट्राग्राममा १ लाख भन्दा बढी फलोअर्स छन् । अदितीले हालै मात्र भारतको चर्चित म्यूजिक कम्पनी सोनी म्यूजिकबाट बन्न लागेका ३ वटा म्यूजिक भिडियोमा काम गर्नका लागि संझौता गरिसकेकी छिन् । अदितीले भारतका चर्चित टेलिभिजनका कार्यक्रमका लागि पनि आफू छनोट भएको बताएकी छिन् ।
भारतका चर्चित डिजाइनरका डिजाइनमा बनेका पहिरनमा विज्ञापन र प्रिन्ट एडमा पनि काम गर्न लागेको अदितीको भनाई छ । ‘कृ’को अडिसन दिएर उनी मुम्बइ पुगेकी छिन् ।
सामाजिक संजालमा समेत राम्रो फ्यान कमाएकी यी सुन्दरीले विशेषगरि, चर्चित ब्रान्डका विज्ञापनमा मोडलिङ गरेकी छिन् । हाल, उनी बलिउड चलचित्रका लागि पनि तयारीमा छिन् । झापा, दमककी अदिती हाल सिनामंगल बस्छिन् ।