राज्यले कलाकारलाई ‘राष्ट्रको गहना’ त भन्छ, तर कलाकारको लागी केही गर्न सकेको छैन – गायिका पूजा

काठमाडौँ – नयाँ वर्षमा ‘नजर’ नामक सोलो म्युजिक एल्बम लिएर नेपाली संगीत बजारमा छाएकी गायिका पूजा सुनुवार अहिले चर्चामा छिन् । उसो त विभिन्न कलेक्सन एल्बम, भाषा–भाषिका कृतिहरु र थारु चलचित्रमा समेत गरि झण्डै पाँच दर्जन गीतहरुमा स्वर दिएको बताउने पूजाको स्वर नेपाली संगीत पारखिका लागि नयाँ भने हैन । अरुको कृतिमा स्वर भरेर मात्र स्थापित हुने उनको चाहाना छैन । त्यसैले त उनले आफ्नो छुट्टै एल्बम निकालेकी छन् । एउटै एल्बममार्फत चर्चित बन्न सफल पूजासँग इमेलखबरले संगीत वार्ता गरेको छ ।

puja 01

के मा ब्यस्त हुनुहुन्छ अचेल ?

मैले एल्बम नजर लन्च गरेको लगभग ३ महिना हुनलाग्यो । टाइम प्रियडको हिसाबले भन्नुपर्दा अझै पनि नजरको हनिमुन सकिएको छैन । अहिले यहि एल्बमको अन्तिम चरणको प्रमोसन, मिडियातिर एस्तै अन्तर्वार्ता गर्ने अनि निम्तो आउँदा विभिन्न कन्सर्टहरु र कल्चरर प्रोग्राममा पुग्ने । यस्तैमा ब्यस्त छु ।

यो एल्बमको तयारी गर्दा यति चर्चा पाउला जस्तो लागेको थियो तपाईंलाई ?

चर्चामा भन्दा पनि म काममा विश्वास गर्छु । यो एल्बमको लागि तयारी देखिनै

टिमवर्क एकदम राम्रो भएको थियोे । गीतकार डि.पि. खनाल, संगितकार शंकर थापा ‘स्माईल’ अनि एरेन्जर उदयाराज पौडेल र आशिष अबिरल सबैको अथक मेहनतबाट नजरले पूर्णता पाएको हो । त्यसैले मलाई राम्रो काम गरेकी छु भन्ने कुरामा विश्वास थियो । र त्यसकै परिणामस्वरुप अहिले फिड्ब्याक पनि सबैतिरबाट राम्रो पाइरहेकी छु ।

आफ्नो ‘नजर’लाई तपाईं कस्तो एल्बमको रुपमा चिनाउनुहुन्छ ?

नजरलाई म एउटा ‘टोटल’ एल्बम भन्न रुचाउँछु । यसमा मैले समेटेको चारवटै गीत फरक–फरक विशेषता र फरक–फरक स्वादका छन् । न.१ मा रहेको ‘भर्खरै पो…’ बोलको फास्ट ट्र्याक नाच्न चाहानेहरुको लागि र आफ्नै लागि पनि स्टेज पर्फमलाई ध्यानमा राखेर बनाएकी छु । न.२ मा रहेको ‘नसम्झी बसुँ…’ बोलको ट्र्याक प्रेमिल जोडिहरुलाई भनेर बनाइएको सुमधुर ‘लभ सङ’ हो । जुन गीतको भिडियो पनि यूट्युबमा उपलब्ध छ । त्यस्तै न.३ को ‘चिटिक्कै छु… ’ बोलको ट्र्याक टिपिकल मारुनी थिममा बनाइएको कल्चरर टाइपको गीत हो । जुन गीतको शाब्दिक पक्षले पनि नेपाली सँस्कृती र देश प्रेमको भावलाई समेटेको छ । र न.४ मा रहेको निष्ठुरी त ‘तिमी…’ बोलको ट्र्याकले भने मार्मिक र वियोगान्त कथालाई बोलेको छ । यसरी हेर्दा यो एल्बमका गीत संगितले सबै उमेर समुहका फरक–फरक स्रोताहरुलाई उहाँहरुको रुचि अनुसार इन्जोए गर्न सक्ने गरि एउटा टोटल प्याकेजको रुपमा ल्याएको छु जस्तो लाग्छ ।

संगित क्षेत्रमा चर्चा कमाइसक्नु भएको छ । तपाईको संगित क्षेत्रको यात्राका बारेमा बताउन मिल्छ ?

झन्डै १२ वर्षको कठिन संघर्ष र तपस्या पश्चात् पहिलो सोलो एल्बम लिएर आएकी छु । एक समय मेरो लागि गायिका बन्नु केवल एक सपना जस्तो मात्र थियो । मेरो घर उदयपुरको कटरी न.पा. हो । त्यहाँबाट राजधानी आएर संगित स्कुल खोजेर दशौं वर्षसम्म संगित सिकेर अघि बढ्नु अवश्य पनि आफैंमा कम्ती चुनौतीपूर्ण कुरो होइन । संघर्षका ती अप्ठ्यारा दिनहरुमा मलाइ ढाडस दिने गुरुहरु प्रकाश गुरुङ, गुरुदेव कामद र गुरुआमा शारदा क्षत्री ज्यु प्रती आभारी छु । त्यस्तै मेरो परिवार जसले सधैं मेरो साथ दियो।सबै प्रती कृतज्ञ छु ।

संगित बजारमा एल्बम निकाल्ने प्रचलन बिस्तारै हराउँदै बेला संगीतमा लगानी गर्नु कति फाइदाजनक हुन्छ ?

रिस्क लिइएको हो भन्न पर्यो । जमानै यस्तै छ खै के भन्ने ? तर पनि कसै सामु आफ्नो परिचय दिन पनि मेरो लागि यो गर्नु जरुरी थियो ।

लगानी फर्किने आश कति गर्नु भएको छ ?

(हाँसो).. यो अपेक्षा लिएर मात्र पूरा हुने कुरा होइन । त्यसमा पनि मेरालागि सबैभन्दा ठूलो रिटर्न त स्रोता र दर्शकको मायानै हो । जो मैले पाईरहेकी छु । जहाँसम्म पैसाको कुरो गर्न खोज्नु भा हो त्यसमा अब पहिला जस्तो सिडिरक्यासेटहरु बेचेर लगानी उठाउँला भन्ने अवस्था छैन । यूट्युबमा गएर दर्शक र स्रोताहरुले भिडियो हेरिदिनु भयो भने अलिकती त्यताबाट आम्दानी हुन्छ । अनि २÷४सय सिडिहरु मेरा शुभचिन्तकहरुले मगाएकोले विदेशतिर पठाएको छु । स्टेज कार्यक्रमबाट पनि बिस्तारै अफरहरु आइरहेका छन् । त्यस्तै हो बिस्तारै कभर होला भन्ने आश त छ भनौं ।

puja 002

विनाशकारी भुकम्प र त्यसपछिको भारतीय नाकाबन्दीको असरले खासै नयाँ म्युजिक एल्बमहरु आएनन् । तर, तपाईंले यही बीचमा कसरि एल्बम निकाल्नुभयो ?

यो बारेमा मेरो छुट्टै धारणा छ । सधैं मान्छे उकुसमुकुसमा बस्न सक्दैन,मान्छेको चाहाना परिवर्तनशिल छ र उसले निकास पहिल्याउँछ । मान्छेहरुले शोकलाई शक्तिमा बदलेर अघि बढ्ने दृढ संकल्प लिएन भने परिवर्तन असम्भव छ । त्यसैले मैले एउटा ट्रेन्डको विकासको लागि पनि यो रिस्क लिन चाहें । हुन पनी नभन्दै मैले नजर लन्च गरेपछि नेपाली संगितमा अहिले लगातार दर्जनौं नयाँ एल्बमहरुको बाढी नै आइरहेको छ ।

अन्तमा, आफ्ना दर्शक÷स्रोताहरुलाई के भन्नै पर्ने कुरा ?

सबै कलाकारलाई स्रोता÷दर्शकको माया आवश्य पर्छ । नेपाली गीत संगित र श्रष्टाहरुलाई माया गरिदिनहोस भन्न चाहान्छु । दर्शक र श्रोताको मायाले नै कलाकार तथा श्रष्टाहरु अगाडि बढ्न सक्छन् । राज्यले पनि कलाकारलाई ‘राष्ट्रको गहना’ त भन्छ, तर कलाकारको प्रबद्र्दनमा खासै केहि गरेको छैन । सबै कलाकारहरुलाई उत्तिकै माया गरिदिनुस भन्न चाहान्छु ।

भिडियो हेर्नुस्