लक्ष्य र योजना नभए कांग्रेस सरकारमा जाँदैनः महामन्त्री कोइराला

काठमाडौं – प्रधानमन्त्री केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकारकाबारे पुनर्विचार गर्नुपर्ने बेला भएको नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले बताएका छन्। उनले लक्ष्य र योजनाबिहीन भएर कांग्रेस सरकारमा नजाने बताए ।

नेपाली कांग्रेस धादिङको भावी योजना तर्जुमाबारे कार्यकर्ता प्रशिक्षणमा आएका महामन्त्री कोइरालाले नेपाल प्रेस युनियनले शुक्रबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सरकारले सन्तोषजनक काम गर्न नसकेकोले ओली नेतृत्वको सरकारको बारे पुनर्विचार गर्नु पर्नेबेला भएको बताएका छन् ।

महामन्त्री कोइरालाले सरकार परिवर्तन हुन सक्ने बताउँदै कांग्रेस सरकारमा जाँदा स्पष्ट नीतिका साथ जाने बताए । उनले भने, ‘मधेसको समस्या सम्बोधन गर्दै संविधान कार्यान्वयन, पुनर्निर्माण र भारतसँगको सम्बन्धका विषयमा स्पष्ट खाका लिएर मात्रै कांग्रेस अगाडि बढ्छ ।’

पार्टीभित्रको चुनावको प्रसंगमा महामन्त्री कोइरालाले कांग्रेसभित्र व्यक्तिगत गुटबन्दी नरहेको बताउँदै विचारको गुटबन्दी लोकतान्त्रिक दलमा आवश्यक रहेको पनि जनाए  ।

वामपन्थीहरुको सम्भावित ध्रुवीकरणलाई रोक्न र देशको सबै चुनौतिको सामना गर्न नेपाली कांग्रेस एक भएरअगाडि बढ्ने र त्यो भूमिकामा आफू रहने कोइरालाको अभिव्यक्ति थियो ।
शुक्रबार हुने संसदीय कार्य समितिको निर्वाचन सहमतिमा टुंग्याउन आफू लागि परेको बताउँदै कोइरालाले कुनै पक्षलाई किनारा लगाउन खोजिए अवश्य निर्वाचनमा जानुको विकल्प नरहेको पनि स्पष्ट गरेका छन् ।

महामन्त्री कोइरालाले आज नै नेपाली कांग्रेस धादिङले आयोजना गरेको वार्षिक योजना तर्जुमा तथा कार्य तालिका निर्माण गोष्ठिको समेत उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, दीपक गिरी, कांग्रेस नेता रामनाथ अधिकारी लगायतको उपस्थिति रहेको थियो । साभारः कान्तिपुर