यौन दुराचारको अभियोगमा पूर्व प्रअ विष्णुबहादुर थापालाई१६ वर्ष कैद

पुष ७, रामेछाप – ६ र ८ वर्षिया दुई बालिकामाथि यौन दुराचार गर्ने एक अभियुक्तलाई रामेछाप जिल्ला अदालतले १६ वर्ष कैदको सजाय सुनाएको छ । दुई नाबालिकामाथि अप्राकृतिक यौन दुराचार गरेको आरोपमा पूर्व प्रधानाध्यापक समेत रहेका भलुवाजोर ३ का ५२ वर्षीय विष्णुबहादुर थापालाई रामेछाप जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले ५०-५० हजार रुपियाँ जनही क्षतिपूर्तिसहित हदैसम्म सजाय गर्ने फैसला गरेको हो ।

यो मुद्धा अभियोग दर्ता भएको १५ दिनभित्रै फैसला भएको रामेछाप जिल्ला अदालतका श्रेष्तेदार मोहन सुवेदीले बताउनु भएको छ । सुवेदीका अनुसार मंसिर २१ गते अभियोग दर्ता भएको र निरन्तर सुनुवाई प्रक्रियाबाट १५ दिनभित्रै फैसला भएको हो । जिल्ला अदालतले गरेको फैसलाबाट आफूहरुलाई न्यायको महसुस भएको पीडित परिवारले प्रतिक्रिया दिएका छन् ।